म्युचुअल फण्ड धमाधम लाभांश घोषणा गर्दै, कुन म्युचुअल फण्डको कति लाभांश ? « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

म्युचुअल फण्ड धमाधम लाभांश घोषणा गर्दै, कुन म्युचुअल फण्डको कति लाभांश ?



काठमाडौं । म्युचुअल फण्डहरु धमाधम लाभांश घोषणा गरिरहेका छन् । सस्तो मूल्यमा लगानीकर्तालाई म्युचअल फण्ड बिक्री गरेका कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् । गत आर्थिक बर्ष बजार उल्लेख्य रुपमा बृद्धि भएपछि म्युचुअल फण्डको नाफा बढेको हो । नाफा बृद्धि भएपछि लगानीकर्तालाई मनग्य लाभांश वितरण गरेका छन् ।

विभिन्न कम्पनीका २३ म्युचुअल फण्ड सञ्चालनमा रहेपनि हालसम्म ११ वटा फण्डले मात्रै लाभांश घोषणा गरेका हुन् । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्ष बढ्दो छ । बिक्री गरेको छोटो समयमा नै मागभन्दा बढी आवेदन पर्ने गरेको छ ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया क्यापिटल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटै सामूहिक लगानी कोषको लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले  एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश घोषणा गरेको हो । जसमा एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) वितरण गर्ने भएको हो ।

त्यस्तै, कुमारी सामूहिक लगानी कोष अन्तर्गत कुमारी इक्विटी फण्डले नगद लाभांश गरेको छ । कुमारी क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०७७–७८ को लागि योजनाका इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । लाभांश प्रयोजनार्थ साउन २५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । त्यसैले साउन २४ गते, आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीहरुलाई लाभांश दिएको छ । लक्ष्मी इक्विटी फण्डको ३५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी उन्नत्ती कोषको २५ प्रतिशत लाभांश दिएको हो । लक्ष्मी इक्विटी फण्डको लाभांश प्रयोजनार्थ साउन १५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । त्यसैले साउन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् । लक्ष्मी उन्नती कोषले साउन १३ गते एक दिनका लागि बुक क्लोज गरेकाले साउन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

त्यस्तै, एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्ड, एनआईबिएल समृद्धि फण्ड–१ र एनआईबिएल सहभागिता फण्डले गत आर्थिक बर्षका लागी लाभांश घोषणा गरेका छन् । एनआईबिएल प्रगति फण्डले ५० प्रतिशत, एनआईबिएल समृद्धि फण्ड–१ ले ३५ प्रतिशत र एनआईबिएल सहभागिता फण्डले ५० प्रतिशत लाभांश घोषणा गरेका हुन् । एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड–१ ले लाभांश वितरण प्रयोजनार्थ साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।  त्यसैले श्रावण २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

त्यस्तै, सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले लाभांश घोषणा गरेका छन् । गत आर्थिक बर्षको नाफाबाट सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले इकाईधनीहरूलाई ३०–३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । लाभांश प्रयोजनार्थ कम्पनीले साउन ३२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । 


प्रतिक्रिया दिनुहोस्