कुलमान घिसिङले आज विद्युत् प्राधिकरणमा पदबहाली गर्ने

काठमाडौं । विद्युत् वितरण प्रणालीको व्यवस्थापनमा निकै प्रभावकारी काम गरेका कुलमान घिसिङले आज पुनः नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्ने भएका छन् । घिसिङ प्राधिकरणबाट विदा भएको १० महिना २७ दिन भएको छ । एक वर्ष नपुग्दै उनी पुनः प्राधिकरण फर्कन लागेका हुन् ।
मन्त्री परिषदले गत सोमबार उनलाई प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि सोही पदमा चार वर्षे कार्यकाल पुरा गरेर २९ भदौ २०७७ मा प्राधिकरणबाट विदा भएका घिसिङले आजै पदभार सम्हाल्ने तयारी रहेको प्राधिकरण स्रोतले बताएको छ ।
उनलाई केपी शर्मा ओली नेतृत्वको पुर्ववर्ती सरकारले पुनः नियुक्ती नगर्ने भन्दै विदा गरेको थियो । घिसिङले दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदै आएको बेलामा विद्युत् व्यवस्थापनलाई सुदृढ गरेर देशलाई लोडसेडिङ मुक्त गरेका थिए । पोल गाड्ने, तार तान्नेजस्ता सानासाना काममा पनि आफैं सहभागि हुने घिसिङको कार्यशैलीले उनलाई परिणाममुखि बन्न सजिलो पारेको थियो ।
सोमबारको मन्त्री परिषदले निर्णय गरेपछि मंगलबार नै घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट नियुक्तिपत्र बुझिसकेको स्रोतको दाबी छ । मन्त्री परिषदले प्राधिकरणको वर्तमान प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ । शाक्यले प्राधिकरणबाट हिजै विदा लिइसकेका छन् ।
शाक्यलाई अपदस्त गरेर घिसिङलाई नियुक्त गर्दा न्यायिक झमेलामा परिने देखिएपछि सरकारले शाक्यलाई आयोग पठाउने निर्णय गरेको मन्त्रालयका एक अधिकारीले बताएका छन् । आयोगलाई ऊर्जा तथा जलस्रोत क्षेत्रका प्राविधिक कर्मचारी थन्क्याउने अड्डाको रुपमा हेरिन्छ ।