राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा अग्रवाल निर्वाचित « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा अग्रवाल निर्वाचित



काठमाडौँ । राउन्ड टेबल इन्टरनेशनलमा पहिलो पटक राउन्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड टेबल इन्टरनेशनलको आफ्नो उपाध्यक्षको कार्यकाल समाप्त भएपछि आफ्नो नयाँ कार्यकाल राउन्ड टेबल इन्टरनेशनलका अध्यक्षका रूपमा सुरु गर्ने छन् । राउन्ड टेबल इन्टरनेशनललाइ राउन्ड टेबल नेपालले लिड गर्न लागेको यो पहिलो पटक हो । राउन्ड टेबल संसारको ६८ देशहरूमा क्रियाशील संस्था हो । 

राउन्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्था हो जसले देशका विभिन्न जिल्लाहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउन्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । राउन्ड टेबल इन्टरनेशनलसँग आबद्ध सन् १९९९ मा स्थापना भएको राउन्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन् । ४० वर्ष उमेरपछि अनिवार्य अवकाश लिनुपर्ने नियम रहेको यस संस्थाको उद्देश्य युवाहरूलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ । 

१८ देखि ४० वर्ष उमेर समूहका युवाहरू मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना “फ्रिडम थ्रू एजुकेसन” सञ्चालन गरिरहेको छ । संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ । 

राउन्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ । शिक्षा क्षेत्रसङै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ । खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चार देखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने ह्यालेसिनिया नामक रोगका बिरामीहरूलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।त्यसै गरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइन अन्तर्गत बिरामीहरूलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरूलाई हस्तान्तरण गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्