नयाँ आर्थिक वर्षको सँघारमा अर्थमन्त्रालयमा फेरबदल, दुई शक्तिशाली विभागले पाए नयाँ नेतृत्व
नयाँ आर्थिक वर्ष सुरु हुन केही दिन मात्र बाँकी छँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलन गर्ने देशका दुई सबैभन्दा शक्तिशाली विभागका प्रमुखहरू परिवर्तन गरेका छन्।
काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु हुन लागेको पूर्वसन्ध्यामा अर्थ मन्त्रालयले राजस्व प्रशासनका दुई अत्यन्तै महत्त्वपूर्ण र शक्तिशाली निकायमा नयाँ नेतृत्व पठाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकसहित प्रमुख अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन्।
बजेट कार्यान्वयन र राजस्व संकलनको नयाँ लक्ष्य भेट्ने चटारोका बीच सरकारले गरेको यो निर्णयलाई अर्थ वृत्तमा निकै चासोका साथ हेरिएको छ।
सरकारको यो निर्णयसँगै आन्तरिक राजस्व विभागको प्रशासनिक कमाण्ड सहसचिव डा. भीष्मकुमार भुसालले सम्हाल्ने भएका छन्। विभागका हालका महानिर्देशक रमेश अर्याललाई भने अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ।
यस्तै, मुलुकको अर्को मुख्य राजस्व संकलन गर्ने निकाय भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन्। यसअघि भन्सार विभागमा निमित्त महानिर्देशकको भूमिकामा रहेका भरतमणि पाण्डेयलाई पनि अर्थ मन्त्रालयबाट बाहिर पठाइएको छ।
भन्सार विभागको टिमलाई बलियो बनाउन सरकारले उपमहानिर्देशकको जिम्मेवारी प्रेमप्रसाद आचार्यलाई सुम्पेको छ।
अहिले नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवहरू हालै मात्र अर्थ मन्त्रालयमा भित्रिएका अनुहार हुन्। केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई अर्थ मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरेको थियो।
मन्त्रालयमा हाजिर भएसँगै अर्थमन्त्री वाग्लेले उनीहरूलाई राजस्व प्रशासनका सबैभन्दा आकर्षक र चुनौतीपूर्ण मानिने विभागहरूको साँचो सुम्पिएका हुन्।













