नेपाल र चीनबिच गम्भीर सीमा समस्या छैनः अध्ययन रिपोर्ट « Arthapath.com
२१ आश्विन २०७८, बिहीबार

नेपाल र चीनबिच गम्भीर सीमा समस्या छैनः अध्ययन रिपोर्ट



नेपाल–चीन सम्बन्ध विवादरहित रहेको रिपोर्टको दाबी

नेपाल–चाइना मिडिया फोरमद्वारा रिपोर्ट सार्वजनिक, चीनसँग सीमा समस्या नरहेको दाबी

काठमाडौं । नेपाल र चीन बिच गम्भीर सीमा समस्या नरहेको अध्ययनमा देखिएको छ । नेपाल–चाइना मिडिया फोरमले नेपाल–चीन सीमा सन्धि सम्पन्न भएको ६० वर्ष पुगेको अवसरमा सार्वजनिक गरेको अध्ययन रिपोर्टले यस्तो निष्कर्ष निकालेको हो ।

सो प्रतिवेदन अनुसार विगतमा नेपाल र चीन बिच उत्पन्न भएका सीमा विवाद र त्यसको समाधानका दृष्टान्त समेत सो रिपोर्टमा समेटिएको छ । नेपाल–चीन सीमा विवाद सम्बन्धमा गरिएको यो अध्ययनको खास दुई वटा कारणहरू रहेको नेपाल–चाइना मिडिया फोरमले उल्लेख गरेको छ । जसमा भनिएको छ– एक, बितेका ६ दशकमा नेपाल र चीन बिच सीमा सम्बन्धी के कस्ता समस्याहरु देखा परे र त्यसलाई कुन विधि मार्फत कसरी समाधान गरियो भन्ने आम चासोलाई पुरा गर्नु दुई मुलुकबिचको सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाको क्षेत्रगत विषय हुनाले ।

दोस्रो हो, नेपालमा सरकार परिवर्तन भए सँगै वर्तमान सरकारले चीनसँगको सीमामा रहेका समस्याबारे अध्ययन गर्ने भनी गरेको घोषणा र सो सम्बन्धमा नेपालको सार्वभौम संसद्मा नै प्रमुख प्रतिपक्षी दलका नेताले त्यो विषयमा गरेको आपत्तिले उब्जाएको अस्पष्टतालाई अन्त्य गर्न तथ्यगत अध्ययनको आवश्यकता देखिनु ।

त्यसो त यो अध्ययन जारी नै रहेको बेला नेपाल सरकारले चीनसँग सीमा विवाद रहेको भन्ने विषयमा अध्ययन गर्न गठन गरेको समितिले सरकार समक्ष आफ्नो प्रतिवेदन बुझाई सकेको छ । तर, सो प्रतिवेदन सरकारले सार्वजनिक गरी नसकेको अवस्थामा त्यसमा के कस्तो तथ्य र त्यसको आधारमा निष्कर्ष निकालिएको छ भन्ने विषयमा थप चासो बढेको छ ।

त्यसैले नेपाल–चीन मिडिया फोरमले गरेको यो स्वतन्त्र अध्ययनका क्रममा फेला परेका तथ्यहरू आम नेपाली र बिशेषगरि नेपाल–चीन सीमा सम्बन्धका विषयमा अध्ययन गर्ने अध्येता, पत्रकार र सबै सरोकारवालाहरूका लागी महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्छ भन्ने हाम्रो विश्वास छ ।

छोटो समय र सीमित स्रोतमा गरिएको यो अध्ययनका केहिसीमा छन् । सामान्यतया यस्ता विषयमा गरिने बितृत अध्ययनमा जस्तो यसमा सबै विधि र प्रक्रिया पुरा गर्न सकिएको छैन । तथापि, विषयवस्तुको गहनता र संवेदनशीलता प्रति भने अध्ययनको क्रममा पूर्ण रूपमा सचेतता अपनाइएको छ । त्यसैले यो अध्ययनलाई वस्तुनिष्ठ र तथ्यपरक बनाउन आवश्यक सबै मापदण्ड यस क्रममा पुरा गरिएको छ ।

विगतमा सगरमाथाको स्वामित्वदेखी सीमाका विभिन्न भागमा देखिएका अन्य समस्याको निराकरण कसरी सहजपुरमा भएको थियो भन्ने कुरालाई यो अध्ययनमा महत्त्वका साथ उल्लेख गरिएको छ । चरन देखि खर्कको उपभोग र त्यसको स्वामित्व निर्धारणका लागि गरिएका अन्य सम्झौता र स्थानीय रूपमा चली आएका व्यवहारिक सम्बन्धको समेत यसमा चर्चा गरिएको छ ।

नेपाल र चीनबिचको सीमाको मात्र कुरा गर्दा यी दुई मुलुकबिचको ऐतिहासिक सम्बन्धको चर्चा नगर्ने हो भने त्यस्तो अध्ययन अपुरो हुन्छ । त्यसैले नेपाल र चीन बिच ऐतिहासिक काल देखि नै के कस्तो सम्बन्ध रही आएको छ भन्ने विषयलाई समेत यो अध्ययनको एक महत्त्वपूर्ण अङ्ग बनाइएको छ । सो क्रममा नेपाल र चीन बिचको सम्बन्धमा आएका आरोह–अवरोहलाई ऐतिहासिक तथ्यमा आधारित पूर्व साहित्यहरूले के कसरी प्रस्तुत गरेका छन् भन्ने कुरालाई आधार बनाएर यहाँ त्यसको ऐतिहासिकतालाई पुनर्स्थापित गर्ने प्रयास गरिएको छ । नेपाल र चीन के र कति कारणले सुख–दुखका असल छिमेकी हुन् भन्ने तथ्य समेत यहाँ प्रस्तुत छ । त्यसका लागी नेपाल–चीन आर्थिक सम्बन्धको चर्चा विशेष रूपले यो अध्ययनको दोस्रो भागमा गरिएको छ ।

सन् २०१५ मा नेपालमा आएको महाभूकम्प पछिको पुनर्निर्माणमा चीनले दिएको साथ, कोरोना महामारीबाट नेपाललाई बाहिर निकाल्न र सङ्कटमा परेका बेला एक जिम्मेवार छिमेकीको नाताले चीनले गरेको सहयोगबारे पनि तथ्यगत प्रस्तुति यसमा समेटिएको छ । त्यसैगरी, चीनले निकै महत्त्वका साथ अघि बढाएको ’रोड एण्ड बेल्ट इनिसिएटिभ’ (बीआरआई)बाट नेपालले लिन सक्ने लाभ र त्यसका लागी अवलम्बन गर्नुपर्ने मार्गका बारेमा समेत यो प्रतिवेदनमा उल्लेख छ ।

यस क्रममा विवाद रहेको भनी प्रचारित क्षेत्रहरूको स्थलगत भ्रमण गरी स्थानीय बासिन्दाको भनाई सङ्कलन गरिएको फोरमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर, यो अध्ययनको उद्देश्य सीमा समस्या छ वा छैन भन्ने कुरालाई तथ्यहरूको आधारमा विश्लेषण गर्नु रहेकोले अन्य विषय वा सन्दर्भमा प्रवेश नगरिएको प्रतिवेदनमा जनाइएको छ ।

यो अध्ययनमा केही महत्त्वपूर्ण र ऐतिहासिक दस्ताबेजहरूलाई अनुसूची खण्डमा राखिएको छ । जसले नेपाल–चीन सम्बन्धलाई थप गहन रूपले अध्ययन गर्न चाहनेहरूलाई एक महत्त्वपूर्ण स्रोत सामग्रीका रूपमा काम गर्न सक्ने नेपाल–चाइना मिडिया फोरमले विश्वास व्यक्त गरेको छ ।

बि.स. २०१६ चैत्र ८ गते‘नेपाल–चीन सिमाना सम्बन्धी सम्झौता हुँदा त्यसले राखेका प्रमुख तीन उद्देश्यहरू यी मुलुकको सीमारेखामा रही आएका केही अस्पष्टतालाई निरूपण गर्ने, सम्पूर्ण सिमानाको वैज्ञानिक सीमा रेखाङ्कन र औपचारिक सीमा स्तम्भ खडा गर्ने तथा दुवै देशबिचको मैत्री सम्बन्धलाई सङ्गठित र अभिवृद्धि गराउने लक्ष यसबिच पुरा भए की भएनन् भन्ने विषयलाई समेत गहन रूपमा अध्ययनको क्रममा विश्लेषण गरिएको छ ।

समग्रमा नेपाल–चाइना मिडिया फोरमले गरेको संछिप्त अध्ययनको आधारमा तयार भएको यो अनुसन्धानात्मक सामग्रीले हाल नेपाल र ची बीच रहेको सिमा समस्याको गहनता के कति हो भन्ने कुरालाई स्पष्ट पारेको छ ।

नेपालको चीनसँग छ भनिएको सिमा समस्याको बिषयमा पछिल्ला दिनहरुमा कतिपय स्वदेशी तथा बिदेशी संचारमाध्यम र अन्य सामाजिक संजाल एवम् इन्टरनेटका अन्य प्लेटफर्ममा सम्प्रेषित समाचारको सत्यताबारे बुझ्न, त्यहाँ उल्लेखित तथ्यहरुको परिक्षण गर्न र आफ्नो धारणा तथा बुझाइलाई तथ्यको आधारमा निर्माण वा संसोधन गर्न १०९ पृष्ठको यो रिपोर्ट उपयोगी अध्ययन सामग्री बन्नसक्छ ।


प्रतिक्रिया दिनुहोस्