यसरी बनाउन सकिन्छ मासुका मिठाे परिकारहरू « Arthapath.com
२६ आश्विन २०७८, मंगलवार

यसरी बनाउन सकिन्छ मासुका मिठाे परिकारहरू



काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ सुरु भएको छ । दसैँलाई नयाँ लुगा रातो टिका र साथमा मासु खाने पर्वको रूपमा मनाइन्छ । देश विदेशमा रहेका परिपरिवारका सदस्यहरू जम्मा भई दसैँमा खुसी मनाउँदै मासुका विभिन्न परिकारहरू बनाएर खाने गरिन्छ । मासुका विभिन्न परिकारहरू बनाउन सकिन्छ । मासुका विभिन्न परिकारहरू पकवा, मासुको रस, ग्रेभी मासु, भुटन, चिकेन पोलेको, छोयला, साधेको कुखुराको मासु लगायतका परिकारहरू कसरी बनाउने चर्चा गदै छौँ । 

१ भुटन र रक्ती
भुटन र रक्ती बनाउन सुरुमा  खसीको आन्द्रा भुँडीलाई तातो पानीमा उमाल्ने त्यसमा थोरै टिमुर, अदुवाको २÷३ टुक्रा काटेर राख्नुपर्दछ  । उक्त आन्द्रा भुँडीको फोहोर र गन्ध गएपछि सफा पानीले पखाल्नुपर्दछ । त्यसपछि आन्द्रा भुँडीलाई सानो सानो पिस बनाएर काटेर थोरै खाने तेल राखेर राम्रोसँग भुट्ने । भुटिसकेपछि त्यसमा टिमुर, नुन, खुर्सानीको धुलो राखेर सानो आगोमा पकाउनु पर्दछ । त्यसपछि तयार भएको भुटन र रक्तीमा टिमुर हालेमा स्वादिलो बनाउन सकिन्छ । भने आफूलाई मन पर्ने अन्य मरम मसला स्वाद अनुसार हाल्न सकिन्छ । 
त्यस्तैसरि, रक्ती पकाउँदा सुरुमा तेल तताउने र ज्वानो, बेसार र रक्ती हालेर भुट्ने। स्वाद अनुसारको नुन राख्ने रक्तीको मसला ज्वानो हो । ज्वानो हाले पछि अन्य मर–मसला हालिरहनु पर्दैन ।

२ पकवा कवाव
हड्डी नभएको खसीको मासुमा थोरै जिरा र धनियाको धुलो, प्याज, लसुन, अदुवा, खुर्सानी, बेसारको धुलो, थोरै खाने तेल तथा शुद्ध घ्यू, स्वाद अनुसारको नुन र दही, तेज पत्ता मिसाएर मोल्ने । त्यसपछि कुकरमा सानो आगोमा पकाउने । यसरी पकाउँदा मिसाएका मसलाहरू मासु सँगै पाकिरहन्छ । राम्रोसँग चुरो गल्ने गरी पाकेको मासु धेरै दिनसम्म पनि बिग्रँदैन । 

३ मासुको सुप
हड्डी भएको मासुलाई छुट्टाएर थोरै तेलमा प्याजलाई भुट्ने, त्यसपछि मासु, बेसार हालेर सानो आगोमा पकाउनु पर्दछ । मासु पाकेजस्तो भएपछि जिरा, धनिया, ल्वाङ सुकुमेल र खुर्सानीको धुलो राखेर चलाउने, स्वाद अनुसारको टमाटर काटेर राख्ने र चाहिने जति पानी हालेर सिट्ठी लगाउनुपर्दछ । ४ देखि ५ सिट्ठी लगाएर मासु पाकिसकेपछि लसुन, अदुवाको पेस्टलाई मासुमा हाल्नुपर्दछ । हरियो धानियालाई काटेर मासुमा मिसाउने र ५ मिनेटसम्म छोपिदिने । अब मासुको मिठो सुप खान बनाएर खान सकिन्छ ।

४ ग्रेभी मासु
हड्डी र मासु भएको मासु छान्ने । थोरै तेलमा प्याज, बेसार भुट्ने, मासु हाल्ने र पकाउने । गोलभेँडा र दही राखेर चलाउने स्वाद अनुसारको नुन र खुर्सानीको धुलो, अदुवा, लसुनको पेस्ट हाल्ने र चाहिए जति पानी राखेर बढिमा २ सिट्ठी लगाएमा मिठो ग्रेभी मासु तयार पार्न सकिन्छ ।

५ छोयला 
मासुलाई मीठो परिकारको रूपमा छोयला बनाएर पनि खान सकिन्छ । तपाइलाई मन पर्ने चिकेन, हाँस, बफ, मटन लगायतका सबैजसो मासुको छोयला परिकार बनाउन सकिन्छ । छोयला बनाउन मासुलाई सफा गरेर चेप्टो र लामो आकारमा पिस बनाउने । नुन, बेसार राखेर राम्रोसँग मोल्ने । यसरी मोलेको मासुलाई आधा घण्टासम्म त्यसै छोपेर राख्ने । अब गोल, कोइला या ग्यासमा जाली राखेर मोलेको मासुलाई राम्रोसँग पाक्ने गरी पोल्ने । पोलेर तयार भएको मासुमा मर–मसला, जिरा, रातो खुर्सानी, लसुन, अदुवा, धनिया, मरीच, टिमुर हालेर मज्जाले मोल्नुपर्दछ । तेल तताएर तयारी मासुलाई झान्ने । अन्त्यमा हरियो खुर्सानीको मसिनो टुक्रा र हरियो धनियाँ काटेर छर्कने । आफ्नो स्वाद अनुसार कागतीको रस पनि छोयलामा मिसाउन सकिन्छ । 

६ पोलेको चिकेन
पोलेको चिकेन पनि मासुका परिकाहरूमध्ये मिठो परिकार हो । पोलेको चिकेन तयार पर्न कुखुराको हाड नभएको मासुमा अदुवा, लसुनको पेस्ट, खुर्सानीको धुलो, हरियो खुर्सानी पिसेको, नेपाली मसला, बेसार, तोरीको तेल, नुन स्वाद अनुसार राखेर मोल्नुपर्दछ भाँडोमा तेल तताएर मेथी अनि मोलेको चिकेनमा झानिदिने । झानिसकेपछि ५ देखि ७ डिग्री तापक्रम भएको फ्रिजमा आधा घण्टा राख्ने । फ्रिज छैन भने यत्तिकै राख्न पनि सकिन्छ । यसपछि झिर वा तारमा, जालीमा, हट प्लेटमा, ननस्टिक प्यानमा राखेर पोल्न सकिन्छ । यसरी पोलेको कुखुरालाई आफूलाई पन पर्ने अचारसङ खादा निकै स्वादिलो हुन्छ ।

७ खसीको खुट्टाको सुप
खसीको खुट्टाको सुप शरिरको लागि तागतिलो पनि हुने गर्दछ । यसलाई बनाउँदा तेलमा प्याज हालेर भुट्नु पर्दछ  । त्यसपछि खसीको खुट्टामा हरियो मुङको दाल, अदुवा, लसुन र मसला राखेर पनि मज्जाले भुट्न सकिन्छ । भुटिसकेपछि पानी राखेर खसीको खुट्टाको हड्डीलाई सिट्ठी लगाइ रहने । हड्डी राम्ररी पाकेपछि सुप खान सकिन्छ ।

८ साधेको कुखुराको मासु
साधेको कुखुराको मासु तयार गर्न मासुका पिसलाई करिब १० मिनेट पानीमा उमाल्नुपर्दछ । त्यसपछि मासु पाक्दछ पाकेको मासुलाई एउटा भाडमा निकालेर राख्नुपर्दछ । उक्त निकालेको मासुमा बेसार, नुन, काटेको लसुन, अदुवा र हरियो धनियाँ राख्ने र मज्जासँग मोल्नुपर्दछ । मोलेको मासु केही बेर यत्तिकै राख्नुपर्दछ । भने अर्को कुनै भाँडोमा चोरीको तेल तताउने तेल तातेपछि हरियो खुर्सानी, मेथी पड्काउने । तेलमा खुर्सानी र मेथी फुरेपछि मासु राखिएको भाँडोमा खन्याउने फेरि मासुमा सबै मसला नभिजुन्जेल राम्रो गरी मोल्नुपर्दछ । केही बेर मोलेपछि मासु खानका लागि तयार हुन्छ ।


मासुका यी परिकारहरू तयार पार्ने विधि मासुका विभिन्न मिठा परिकारहरू बनाउने व्यक्तिहरूको सहयोगमा तयार पारिएको हो ।

Foods in Nigeria: Goat Meat & Chicken Stew Recipe - Dream Africa


प्रतिक्रिया दिनुहोस्