नबिल बैङ्कद्वारा कालिकोटको पलाँतामा दिगो बैङ्किङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौैंं । नबिल बैङ्कले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैङ्किङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नबिल बैङ्कले पलाँता गाउँपालिकासङ दिगो बैङ्किङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।
पलाँता गाउँपालिकामा नबिल बैङ्कको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारीसमा बैङ्कले उद्यम गर्न बैङ्कको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले नबिल बैङ्कको दिगो बैङ्किङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरेका छन् । कार्यक्रममा नबिल बैङ्कको दिगो बैङ्किङ तथा वित्तीय साक्षरताको सम्बन्धमा नबिल दिगो बैङ्किङका प्रबन्धक लीला प्रसाद ओझाले प्रकाश पारेका थिए ।