पाँच क्यासिनोले पौने ८६ करोड रोयल्टी बुझाउन बाँकि, विभागले दियो सात दिने चेतावनी « Arthapath.com
१९ माघ २०७८, बुधबार

पाँच क्यासिनोले पौने ८६ करोड रोयल्टी बुझाउन बाँकि, विभागले दियो सात दिने चेतावनी



काठमाडौं । पर्यटन विभागले पाँच कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण वापतको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद जारी गरेको छ ।

आज सार्वजनिक सूचना निकालेर होटल याक यण्ड यती दरबारमार्ग, ओरियन्टल होटलस् लिमिटेड (-याडिसन होटल) लाजिम्पाट, क्यासिनो सन्चालक ह्याप्पी आवर, रक इन्टरनेशनल र सेन्ट्रल मिडिया प्रालिलाई सात दिनभित्र बाँकी बक्यौता रकम बुझाउन विभागले भनेको हो।

विभागका अनुसार क्यासिनोले कुल ८५ करोड ८४ लाख ४७ हजार रुपैयाँ सरकारलाई तिर्न बाँकी छ । ह्याप्पी आवरले २१ करोड ५५ लाख, होटेल याक एन्ड यतीले २० करोड ६८ लाख १५ हजार, ओरियन्टलले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेसनलले ११ करोड ४५ लाख तिर्न बाँकी छ । यो रकम आर्थिक वर्ष २०७६/०७७ सम्मको हो ।

यी कम्पनीहरुलाई यसअघि २०७८ कात्तिक ७ गते ३५ दिने सूचना जारी गरी बक्यौता बुझाउन भनिएको थियो। त्यसपछि फेरि पुस २७ गते पत्र पठाएर १५ दिने म्याद दिइएको थियो।

हालसम्म पनि बक्यौता रकम दाखिला नगरेपछि विभागले सात दिनको म्याद दिएको हो। सात दिनभित्र पनि बक्यौता रकम दाखिला नगरे कानून बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो। यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो ।

काठमाडौँको साङ्ग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट रु १४ करोड २० लाख बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ।

क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तुरसहित रु १४ करोड २० नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो। पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाए कारबाही हुने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्