नवलपरासीमा टिभी कारखाना खोल्ने सामसङ र हिम इलेक्ट्रोनिक्सको तयारी « Arthapath.com
९ भाद्र २०७९, बिहीबार

नवलपरासीमा टिभी कारखाना खोल्ने सामसङ र हिम इलेक्ट्रोनिक्सको तयारी



काठमाडौं । स्मार्टफोनहरुको ब्राण्ड सामसङ र हिम इलेक्ट्रोनिक्स मिलेर नवलपरासीमा टिभी कारखाना खोल्ने भएका छन् । बुधबार एक समारोहबीच नवलपरासीमा कारखानाको शिलान्यास गरिएको हो ।

समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सीइओ केन काङले “हाम्रो लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससंग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनता प्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाउनु भएको बढ्दो विश्वास एवं मायाको प्रतिक हो । हामीे नेपाल सरकार र स्थानीय निकायहरुलाई उहाँहरुले दिनु भएको साथ सहयोगको लागि आभार व्यक्त गर्दछौं”, भने ।

सोही समारोहलाई सम्बोधन गर्दै गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले “यो नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ । कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससंगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्नेछ । यो हाम्रो सामसङसंगको २२ वर्ष लामो सहकार्यको सुखद परिणाम हो ”, भने ।


कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । नेपालमा सन् १९९७ देखि सामसङले प्रवेश पाएको हो र आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । हाल यसले आफ्नो साझेदार मार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरु बिक्री वितरण गर्दै आइरहेको छ । नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ ।


उक्त कारखानाले नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको शुरुवात गर्नेछ र स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको छ । यसले प्रभावकारिता र उत्पादकत्व वृद्धि गर्न, थप रोजगारीका अवसरहरु सिर्जना गर्न र देशमा एक बलियो इलेक्ट्रोनिक्स उत्पादन गर्ने वातावरण बनाउन मद्दत पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्