सीमानाकाको चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन « Arthapath.com
१६ असार २०८२, सोमबार

सीमानाकाको चोरी तस्करी रोक्न सरोकारवाला निकायलाई निर्देशन



काठमाडौं । राजश्व चुहावट नियन्त्रण समितिले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न सरोकारवाला निकाएलाई निर्देशन गरेको छ । समिति बैठकले रुपन्देहीका विभिन्न सीमानाकाबाट हुनसक्ने चोरी निकासी तथा पैठारी नियन्त्रणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । चाडपर्व नजिकिँदै गइरहेको अवस्थामा नेपाल–भारत बीचको खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी–निकासी तथा पैठारी हुने जोखिम भएकाले नियन्त्रणका लागि बिभिन्न योजना र रणनीति तयार गर्न समितिको बैठक बसेको थियो ।


जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको समिति बैठकले चोरी–पैठारी हुन सक्ने शंकास्पद स्थान पहिचान गरेर ती स्थानमा कडाइ गर्ने निर्णय गरेको छ । चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि भन्सार गस्तीलाई थप प्रभावकारी तुल्याउने, आन्तरिक राजश्व कार्यालयले बजार अनुगमनलाई चुस्त तथा तीव्र बनाउने, जिल्लास्थित सुरक्षा निकायहरूले भारतीय सीमानाकाबाट हुन सक्ने चोरी–पैठारीको उच्च जोखिम रहेका स्थानहरुमा प्रभावकारी रुपमा नियमित तथा आकस्मिक गस्ती परिचालन गर्ने रणनीति तयार गरिएको छ ।


सिद्धार्थनगरको पक्लिहवास्थित दशगजासँगै जोडिएर लाग्ने गरेको फरेनिया बजारमा नेपालतर्फबाट मानिस आउजाउ गर्दा चोरी पैठारी तथा राजश्व चुहावटको उच्च जोखिम रहेकाले उक्त स्थानबाट भारततर्फ आउजाउमा लगाइएको रोकलाई निरन्तरता दिने जनाइएको छ । उक्त क्षेत्रबाट हुन सक्ने चोरीपैठारी नियन्त्रण गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ । बैठकमा भन्सार कार्यालय, सुरक्षा निकायका प्रमुख, आन्तरिक राजश्व कार्यालय भैरहवा,बुटवल, राष्टिय अनुसन्धान, राजश्व अनुसन्धान लगायतका निकायको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्