विद्युतीय सवारीमा बढ्दो क्रेज : एक महिनामै ६२ करोड बढीको २११ वटा गाडी नेपाल भित्रियो « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

विद्युतीय सवारीमा बढ्दो क्रेज : एक महिनामै ६२ करोड बढीको २११ वटा गाडी नेपाल भित्रियो



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा ६२ करोड बढीको इलेक्ट्रिक सवारी साधान नेपाल भित्रिएको छ ।

भन्सार विभागले हालसालै प्रकाशित गरेको नयाँ आव २०७९/८० को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार साउन महिनामा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक सवारी आयात भएको छ ।

उक्त अवधिमा विश्वका विभिन्न देशहरुबाट फरक–फरक तौल क्षमताका २११ थान विद्युतीय सवारी नेपाल भित्रिएको हो । इलेक्ट्रिक गाडी आयातबाट सरकारले २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा भने विद्युतीय सवारी आयत ८६.१७ प्रतिशतले बढी हो । गत आवको साउन महिनामा भने ३३ करोड ३९ लाख २९ हजार रुपैयाँ बराबरको १०५ वटा विद्युतीय सवारी नेपाल भित्रिएको थियो ।

नेपालमा भारत, चीन, कोरिया र अमेरिकाबाट इलेक्ट्रिक गाडी आयात भएको विभागले जनाएको छ ।

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी भारतबाट विद्युतीय सवारी आयात भएको छ । उक्त देशबाट साउनमा ३४ करोड ९ लाख ८७ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको हो । भारतबाट १०० किलोवाट तौल क्षमताका १२५ वटा सवारी आयात भएको विभागले जनाएको छ ।

साउन महिनामा कोरियाबाट १६ करोड ५८ लाख १३ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएको हो । उक्त मुलुकबाट १०० किलोवाट तौल क्षमताको १२५ वटा र १०० देखि २०० किलोवटका २ वटा सवारी आयत भएको विभागले जनाएको छ ।

यस्तै, चालु आवको पहिलो महिनमा अमेरिकाबाट भने २ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको ४ वटा इलेक्ट्रिक गाडी आयात भएको छ । जसमध्ये १०० देखि २०० किलोवट तौल क्षमताका २ र २०० देखि ३०० किलोवाट तौल क्षमताका २ वटा सवारी नेपाल भित्रिएको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्