क्रिप्टो व्यवसायीलाई १५ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले क्रिप्टो व्यवसायी अमित श्रेष्ठलाई १५ लाख धरोटीम छोड्न आदेश दिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले एक अर्ब बढी जरिवाना माग गरेपनि उच्च अदालतले १५ लाख धरोटीम छोड्न आदेश दिएको हो ।गत बिहीबार न्यायाधीश राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त इजलासले श्रेष्ठलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका रिजष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।
तत्काल प्राप्त प्रमाणबाट थुनामा राख्नु नपर्ने देखिएको भन्दै धरौटीमा छोड्ने आदेश गरेको उनले बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गत असार २९ गते पक्राउ गरेको थियो । बिहीबार आदेश भए पनि श्रेष्ठले आइतबार दिउँसो मात्रै उक्त रकम बुझाएका हुन् ।
उनी थुनामुक्त हुने प्रक्रियामा छन् । पक्राउ परेका श्रेष्ठ विशाल सिमेन्टका पूर्वमालिक समेत हुन् । उनले नेपालका विभिन्न बैंकमार्फत पनि नेपाली कम्पनीका सेयर किनेर लगानी गरेका छन् । नेपालका विभिन्न बैंक खातामा रहेको तीन करोड ३० लाख ९१ हजार रूपैयाँभन्दा धेरै रकममार्फत् श्रेष्ठले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको खुलेको हो ।
त्यस्तै एक बैंक खातामा ६७ हजार ५९६ क्यानडियन डलर रहेको पनि पाइएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगाप्रसाद पौडेलका अनुसार उनको ४८ करोड ४ लाख ७२ हजार ५४८ रुपैयाँ बिगो रकम थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसूर गर्नेलाई बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै हुन सक्ने व्यवस्था छ ।



















