तीन महिनामै नेपालीले खेले साढे तीन करोडको तास !
काठमाडौं । तास आयातमा तीन महिनमै साढे तीन करोड बढी रकम बाहिरिएको छ । चालु आर्थिक वर्ष २०७९/८० असोज मसान्तसम्ममा ३ करोड ५९ लाख १० हजार बराबरको तास आयात भएको हो ।
भन्सार विभागले हालै प्रकाशित गरेको तथ्याङक अनुसार चालु आवको तीन महिनामा १६ लाख ९६ हजार २१२ थान (प्याकेट) तास नेपाल भित्रिएको हो । तास आयातबाट सरकारले २ लाख २३ हजार ५६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
विभागका अनुसार तास आयात एक महिनाकै अवधि अर्थात भदौको तुलनामा असोजमा भने २४७.५५ प्रतिशतले बढेको हो । भदौ महिनामा १ करोड ३ लाख ३२ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो ।
नेपालमा दशैं, तिहार लगायतका चाडपर्वमा रमाईलोका लागि तास खेल्ने प्रचलन छ । सोही कारण चाडपर्वमा बढी माग हुने गर्दछ । जसले असोज महिनामा बढी आयात बढेको बताइएको छ ।
नेपालमा छिमेकी दुई मुलुक भारत र चीनबाट तास आयात हुने गरेको छ । असोज मसान्तसम्ममा सबैभन्दा बढी तास चीनबाट आयात भएको छ । उक्त अवधिमा ३ करोड २५ लाख ५९ हजार रुपैयाँ बराबरको तास नेपाल भित्रिएको हो ।
यस्तै, भारतबाट भने ३३ लाख ५१ हजार रुपैयाँ बराबरको आयात भएको विभागले जनाएको छ । चालु आवको पहिलो महिनामा भने चीनबाट मात्रै ४० लाख रुपैयाँ बराबरको तास आयात भएको विभागले जनाएको छ ।












