महँगी नियन्त्रणमा सफल भएको राष्ट्र बैंकको दाबी, १० महिनाको औसत मूल्यवृद्धि २.६६ प्रतिशतमा सीमित
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा मूल्यवृद्धिलाई लक्ष्यअनुसार नियन्त्रणमा राख्न सफल भएको जनाएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनासम्मको औसत उपभोक्ता मूल्यवृद्धि २.६६ प्रतिशतमा सीमित रहेको छ, जुन मौद्रिक नीतिले लिएको ५ प्रतिशतको लक्ष्यभन्दा निकै कम हो।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि उपभोक्ता मूल्यवृद्धि ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य तय गरेको थियो। समीक्षा प्रतिवेदनले उक्त लक्ष्य समग्र रूपमा हासिल भएको देखाएको छ।
यद्यपि, पछिल्ला महिनामा मूल्यवृद्धिमा केही दबाब देखिएको प्रतिवेदनले जनाएको छ। २०८३ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ५.०४ प्रतिशत पुगेको छ। यो दर वार्षिक आधारमा लक्ष्यभन्दा केही माथि पुगे पनि समग्र आर्थिक वर्षको औसत मूल्यवृद्धि भने अझै लक्ष्यभित्रै रहेको राष्ट्र बैंकको निष्कर्ष छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य राखेको थियो। तर, प्रगति भने लक्ष्यभन्दा झण्डै तेब्बर बढी देखिएको छ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको कुल विदेशी विनिमय सञ्चितिले मात्र २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
विश्लेषकहरूका अनुसार औसत मूल्यवृद्धि कम रहनुले उपभोक्तामाथि महँगीको दबाब अपेक्षाकृत सीमित रहेको संकेत गर्छ। यद्यपि पछिल्ला महिनामा मूल्यवृद्धिको गति बढ्न थालेकाले आगामी दिनमा बजार अनुगमन र मौद्रिक व्यवस्थापन थप सतर्क हुनुपर्ने देखिएको छ।













