विश्वका १० धनाढ्यबाट बाहिरिए भारतका दुबै व्यवसायी, एसियाको धनिमा अझै पनि मुकेश अम्बानी « Arthapath.com
२३ माघ २०७९, सोमबार

विश्वका १० धनाढ्यबाट बाहिरिए भारतका दुबै व्यवसायी, एसियाको धनिमा अझै पनि मुकेश अम्बानी



काठमाडौं । संसारको दोस्रो धनि बनिसकेका गौतम अडानीले दुई सातामा आधा सम्पत्ती गुमाएपछि पृथ्वीका १० ठूला धनिहरुको सूचीबाट भारतका दुबै व्यवसायी बाहिरिएका छन् । फोर्ब्सको रियल टाइम बिलियनर्स सूचीमा अब फ्रान्स, अमेरिका र मेक्सिकोका व्यवसायीमात्रै ठूलो धनराशीका मालिक बनेका छन् ।

दुई साताअघि सम्म संसारका धनिहरुको सूचीमा तेस्रो स्थानमा रहेका अडानी अहिले १७ औं स्थानमा पुगेका छन् । अडानीको यो खस्किँदो शाखले भारतका अर्का डलर अर्बपति मुकेश अम्बानीलाई पनि असर परिहेको छ । उनको सम्पत्ती पनि लगातार खस्किएको छ । केही दिनअघिसम्म संसारको ८ औं धनि रहेका अम्बानी अहिले १२ औं स्थानमा पुगेका छन् ।

‘शर्ट सेलर’ अर्थात् सट्टेबाजी गर्ने एउटा अमेरिकी कम्पनीले गौतम अडानीका कम्पनीहरुको सेयर मूल्य ८० प्रतिशतसम्म अधिमूल्यन् भएको र अडानी समूहका कम्पनीहरु वित्तीय जोखिममा रहेको भन्दै ३२ हजार शब्दको प्रतिवेद नगत साताको मंगलबार विहान सार्वजनिक गरेको थियो । त्यसबेलासम्म संसारको तेस्रो धनि रहेका अडानीको स्तर केही दिनमै ह्वात्तै खस्किन पुग्यो । प्रतिवेदन सार्वजनिक भएको भोलिपल्टै तेस्रोबाट सातौं स्थानमा पुगेका अडानी त्यसपछि ओर्लिंदै अहिले १७ औं स्थानमा पुगेका हुन् ।

यस्ता धनिहरुको सूची उनीहरुको स्वामित्वमा भएको सेयरको मूल्यले तय गर्छ । कुनै व्यक्तिले कुनै पनि कम्पनीको सेयरमा लगानी गरेको हुन्छ । उसको त्यो कम्पनीको सेयर मूल्य जति बढ्छ, सो व्यक्तिको सम्पत्ती पनि त्यति नै बढेको मानिन्छ । ट्वीटर किन्नुअघि एलन मस्कका कम्पनीहरुको सेयरले बजार पिटेको थियो । उनले स्पेस एक्स नामक रकेट बनाउने कम्पनीमार्फत् संसार भरका मानिसलाई केही वर्ष पनि मंगल ग्रहमा यात्रा गराउने भनेका थिए । भटाभट उधारो टिकट बेचेर पनि पैसा कमाए ।

महँगा विद्युतीय गाडी उत्पादन गरिरहेको कम्पनी टेस्ला पनि उनकै स्वामित्वमा छ । कोभीडपछि अमेरिकी सेयर बजारमा टेस्लाको भाउ अनपेक्षित रुपमा बढ्न पुग्यो । यसले मस्कलाई संसारको सर्वाधिक धनि बनाइदियो । तर पछिल्ला दिनमा ट्वीटर किनेसँगै मस्कका कम्पनीहरुप्रति मानिसहरुको अभिरुची घट्दै गएको देखिन्छ । बरु लुइ भिटन नामक फ्रान्सेली कम्पनीका मालिक बर्नार्ड आर्नल्ट र उनको परिवार अहिले संसारको शीर्ष धनि भएको छ।

लेडिज ब्याग र फेसनका सामाग्री उत्पादन गरेर बेच्ने यो कम्पनीको सेयर मूल्य उचालिनुको पछाडी के कारण छ ? अहिले विश्व अर्थ व्यवस्था कमजोर भएको बेला फेसन कम्पनीहरुको सेयर मूल्य उचालिएको छ । यसले संसार भरका लगानीकर्ताहरु अझै पनि फेसनको बजार नै सबैभन्दा बुम हुन्छ भन्ने मान्यता राख्छन् भन्ने यसको दृष्टान्त हो । बार्नार्डमात्र होइन, लेडिज क्रिम उत्पादन गर्ने कम्पनी लोरियलकी मालिक्नी फ्रान्सिस बेटनकोर्ट मेयर र उनको परिवार अहिले संसारको १० औं धनि भइकेको छ । केही दिनअघि सम्म यो परिवार विश्वको १७ औं धनि थियो ।

एसियाली अर्बपतिहरुको गिर्दो शाखको लाभ अमेरिका र फ्रान्सका अर्बपतिले उठाएका छन्। लोरियल पनि फ्रान्सेली कम्पनी हो । गुगलका लगानीकर्ताहरु लेरी पेज र सर्गेई ब्रिन अहिले विश्वको सातौं र नवौं धनि बनेका छन् । टेलिकममा लगानी गर्ने मेक्सिकन नागरिक कार्लोस स्लिम हेलु र उनको परिवार अहिले विश्वको आठौं धनि भएको छ । उनीमात्रै एक व्यक्ति हुन्, जो अहिले फ्रान्स र अमेरिकाबाहेका १० अर्बपतिको सूचिमा अटाएका छन् । झण्डै डेढ दशक विश्वको शीर्ष धनाढ्य रहेका बिल गेट्स अहिले छैटौं स्थानमा छन् ।

सेयर बजारका बादशाह भनिने ९२ वर्षका वारेन बफेट अहिले पनि ५ औं धनि छन् । उनी बिल गेट्सले शीर्ष स्थान पक्डिँदा लामो समय संसारको तेस्रो धनिको बरियतामा टिकेका थिए । अमेरिकी प्रविधि कम्पनी ओराकलका मालिक ल्यारी इलिसन चौंथो र अमेजनका मालिक जेफ बेजोस तेस्रो धनि छन् । बेजोस पनि कोभीडअघि नै संसारका शीर्ष धनि भइसकेका व्यक्ति हुन् ।

अहिले पनि एसियाको सबैभन्दा धनि व्यक्तिमा भारतको रिलायन्स ग्रुपका मालिक मुकेश अम्बानी नै छन् । चीनमा खाने पानीको ब्यापार गरेर उदाएका चोङ शानशान अहिले एसियाको दोस्रो र संसारको १५ औं धनि भएका छन् । अडानी त्यसपछिका तेस्रा धनि एसियाली हुन् । ल्याटिन अमेरिकाबाट अहिलेसम्म सर्वाधिक धनि इरिस फोन्टबोना छिन्, उनी विश्व सूचीमा ६६ औं स्थानमा रहेकी छन् । अस्ट्रेलियाका आन्ड्रेउ फोरेस्ट संसारको ७७ औं र अस्ट्रेलियाको पहिलो धनि हुन् । यी दुबै खानी चलाउँछन् ।

नाइजेरियाको ड्यांगोटे समूहका मालिक एलिको ड्यांगोटे अफ्रिकाका सब्रभन्दा धनि व्यक्ति हुन् । सिमेण्ट र चिनीमा लगानी गरेका उनी विश्व सूचीमा भने १३७ औं स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस्