घर बहाल कर घरबेटीसँग लिन भरतपुर महानगरलाई व्यवसायीको दबाब « Arthapath.com
१४ मंसिर २०८०, बिहीबार

घर बहाल कर घरबेटीसँग लिन भरतपुर महानगरलाई व्यवसायीको दबाब



चितवन । चितवनका विभिन्न क्षेत्रमा व्यवसाय गर्ने व्यवासयीहरुलाई घर बेटीले घर बहाल कर तिर्न तिर्न लगाएको कुरा कसैका सामु पनि छिपेको छैन ।

अहिलेसम्म घर बहाल कर आफैँले तिर्दै आइरहेका व्यवसायीहरूले घर बहाल कर घर बेटीसँग लिनुपर्ने भन्दै दबाब बढाउन थालेका छन् ।

उद्योग वाणिज्य सङ्घ वस्तुगत समन्वय समितिका संयोजक तथा तृतीय उपाध्यक्ष शिरीष पन्तको नेतृत्वमा सङ्घमा आबद्ध २१ वटा वस्तुगत सङ्घका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधीहरुले आज बिहीबार भरतपुर महानगरपालिका राजश्व परामर्श समितिका संयोजक तथा उपप्रमुख चित्र सेन अधिकारीलाई भेटेर घर बहाल कर घर बेटीसँग लिन दबाब दिएको हो ।

महानगरपालिकाले व्यवसायीलाई व्यवसाय कर तिर्न जाँदा घर बहाल करसमेत माग्न थालेपछि व्यवसायीहरूले त्यसको विरोध गरेका छन् । आम्दानी गर्नेले नै कर तिर्नुपर्ने विश्वव्यापी मान्यता रहेको भन्दै सङ्घका तृतीय उपाध्यक्ष पन्तले महानगरले घर बहाल कर व्यवसायीसँग लिन नहुने बताए । घर बेटीले नै  घर बहाल कर तिर्नुपर्ने भन्दै आर्थिक सङ्कटको चपेटामा परेका व्यवसायीलाई थप मार पार्न नहुने उपाध्यक्ष पन्तले बताए ।

छलफलमा महानगरपालिका राजश्व महाशाखाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । महानगर उपप्रमुख चित्र सेन अधिकारीले व्यवसायीहरूले उठाएका विषय जायज भएको भन्दै आगामी सोमवारसम्म यस बारेमा महानगरपालिकाले आफ्नो धारणा स्पष्ट गरेर उत्पन्न समस्याको समाधान गर्ने बताए । घर बेटीहरूले भाडा बढी लिएर व्यवसायीसँग कम भाडा लिएको भन्ने अलग्गै सम्झौता गरेर कर छली गर्दै आएका छन् ।

व्यवसायीहरूले यसै पनि बढी भाडा तिरेका छन्, भाडा तिरेको सत्य कुरा खर्चमा देखाउन पाएका छैनन् ।  जति तिरेका छन् त्यति खर्चमा देखाउने हो भने आयकर बढी तिर्नुपर्ने थिएन, वस्तुगत समन्वय समितिका संयोजक पन्तले भने, अहिले देखिएको यो समस्याको दीर्घकालीन समाधान होस्, घरबेटी र व्यवसायीका बिचमा सौहार्द्यता कायम होस् भन्ने चाहाना हाम्रो छ । सो अवसरमा उद्योग वाणिज्य सघंका उपाध्यक्ष पन्त एवम् व्यवसायीहरूले पूर्वी चितवन तथा पश्चिमबाट आउने सवारीलाई नारायणगढ बजारसम्म आउन दिनुपर्ने माग गरे ।

चौविसकोठी नारायणगढ मुख्य राजमार्गमा सडक विस्तारको कारण देखाउँदै पूर्वी चितवनबाट आउने सवारीलाई चौविसकोठीबाट नै फर्काउने गरिएको छ । बाइपास रोड भएर बजारसम्म जान दिने अप्सन हुँदा हुँदै महानगरपालिकाले त्यसमा चासो नदिँदा स्थानीय जनता तथा व्यवसायीहरूलाई मार परेको उपाध्यक्ष पन्तले बताए । महानगरपालिका उपप्रमुख अधिकारीले व्यवसायीहरूको मर्का आफूहरूले बुझेको भन्दै यो समस्याको समाधान खोजिने आश्वासन दिए ।


प्रतिक्रिया दिनुहोस्