उद्यमी जन्माउने हब बन्दै ‘नबिल दिगो बैंकिङ’ « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

उद्यमी जन्माउने हब बन्दै ‘नबिल दिगो बैंकिङ’



काठमाडौँ । एउटा उखान छ नि, ‘तँ आँट्, म पुर्याउँछु’ । धनकुटा हिलेकी दुर्गा घिमिरेलाई पनि आँट र इच्छाशक्तिले आज सफल उद्यमी बनाएको छ ।

करीब १० वर्षअघिदेखि डेरी उद्योग सञ्चालन गरिरहेकी उनलाई बजार माग धान्न मुस्किल पर्यो । बजार विस्तारका लागि आफूसँग भएको पुँजीले पुग्ने अवस्था नै थिएन । फेरि पनि उनले आँट गरिन् र पैसाको जोहो गर्न बैंक तथा वित्तीय संस्था धाउन थालिन् ।

धेरै बैंकको ढोका ढकढक्याउँदा पनि उनलका लागि झन्झट बाहेक अरू तारतम्य केही मिलेन । पैसा राख्ने घर अर्थात् बैंकहरु चाहर्दै जाँदा उनी नबिल बैंक पुगिन् । त्यहाँ पुगेपछि उनलाई ढुङ्गा खोज्दा देऊता मिलेजस्तै भयो ।
‘ब्यापार बढाउने सोच बनाएर ऋण खोज्दै धेरै बैंक धाएँ । तर सोचेअनुसार कतै भएन’, उनी भन्छिन्, ‘नबिल बैंकले भने हामीजस्तो उद्यम गर्न चाहनेलाई सहुलियत रुपमै कर्जा दिने रहेछ ।’

उनले नबिल उद्यमशील कर्जा लिएर ‘श्री सिङदेवी डेरी उद्योग’लाई विस्तारित रूपमा चलाइरहेकी छिन् । २ वर्षअघि १० लाख रुपैयाँ कर्जा लिएकी उनी अहिले ब्यापार विस्तार गर्ने धुनमै रमाएकी छिन् ।
अहिले उनको व्यवसाय गज्जब राम्रो चलिरहेको छ । आफू र आफ्नो परिवारका सदस्य सहित ८–१० जनाले डेरीमा काम गर्छन् । ४–५ जनालाई त उनले जागिर नै दिएकी छिन् ।

++++++++++

घिमिरेकै जस्तो डेरि व्यवसायमा सफलताको सिँढी उक्लिरहेका अर्का युवा हुन्, धनकुटा पाख्रीबासका युवराज कार्की । उनी त यो देश नै छाड्न चाहन्थे । दक्षिण कोरिया काम खोज्न जाने उनको तयारी त्यतिबेला अलपत्र पर्यो, जब उनी रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा फेल भए ।

कोरिया जाने सपनामा धक्का लागेपछि उनी स्वदेशमै भविष्य खोज्ने कोसिस गर्न थाले । झण्डै एक दशकदेखिको डेरी उद्योगलाई बेचेर कोरिया उड्ने सपनामा तुषारापात भएपछि उनी त्यही डेरीको उन्नती गराउने तरखरमा जुटे ।

उनले पनि २ वर्ष अघि १५ लाख रुपैयाँ ‘नबिल उद्यमशील कर्जा’ लिएर व्यवसायलाई फराकिलो बनाइरहेका छन् । अहिले उनको डेरीले दैनिक ६ सय लिटरसम्म दुधको कारोबार गरिरहेको छ । साथै, छुर्पी, दही, मोही, घ्यू, बटर, पनिर, चीज, आइसक्रिम लगायत समान उत्पादन गरिरहेका छन् ।

उनको उत्पादन इटहरी, विराटनगर, धरान लगायत ठाउँमा पुग्ने गरेको छ । छुर्पी भने अमेरिका, जापान लगायत देशहरूमा समेत निर्यात हुने उनले बताए ।

‘देशभित्र केही गर्न चाह्यो भने असम्भव भन्ने नहुने रहेछ । विदेशमा जति दुख यहाँ गरियो भने कमाइ पनि राम्रै हुन्छ’, उनी भन्छन्, ‘कमाएको पैसा बच्दैन भन्ने मात्रै हो । परिवारसँगै बसेर दुःख–सुख साट्न पाइएको छ । यसैमा खुशी छु ।’

++++++++++

देशमा केही गर्न चाहने र गर्न सकिन्छ भनेर आत्मविश्वास दिलाउनेहरुको हजारौँको संख्यामा छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिकाकी रबिना लिम्बु पनि तिनैमध्येकी अर्की उदाहरण हुन् ।

‘इन्द्र कुबिर ढाका उद्योग’ सञ्चालन गरिरहेकी उनलाई हाते सामग्री बनाउनदेखि उत्पादनलाई बजार पुर्याउन भ्याइनभ्याइ छ । कुनैबेला व्यक्तिगत प्रयोजनका लागि ढाका, अल्लो लगायतका सामग्रीबाट हाते कपडा तयार गर्ने उनी अहिले उद्यमी मात्र बनेकी छैनन् । अरूलाई पनि रोजगारी दिइरहेकी छिन् ।

सुरुसुरुमा घरमै बसेर ढाका कपडा र ढाकाजन्य उत्पादन गर्ने रबिना अहिले उद्योग हाँकीरहेकी छिन् । रबिनाले आफूजस्तै धेरै महिलालाई रोजगारी पनि दिएकी छिन् ।

‘मैले व्यावसायिक रूपमा नै काम गर्न थालेको धेरै भएको छैन । ३ वर्ष मात्र भयो’, उनी भन्छिन्, ‘त्योभन्दा अगाडि मैले घरमै बसेर दर्ता नगरी चलाइरहेको थिएँ ।’ उनले नबिल बैंकबाट ६ लाख रुपैयाँ ऋण लिएर उद्यम गरिरहेकी छिन् ।

‘मैले आफ्नो क्षमताअनुसारको ऋण लिएर काम सुरू गरँे’, उनी भन्छिन्, ‘त्यसपछि मलाई धेरै नै सहज भयो । बैंकले धेरै कुरामा सपोर्ट पनि गरेको छ ।’ ब्याजदर सस्तो भएकोले किस्ता बुझाउन पनि सजिलो भइरहेको उनले बताइन् ।

करीब १२ वर्षअघिबाट २ हजार ५ सय रुपैयाँ लगानीबाट ढाका, अल्लो लगायत सामग्री उत्पादन गरिरहेकी रबिनाको लगानी अहिले ३०–३५ लाख पुगिसकेको छ ।

उनको विचारमा आत्मनिर्भर बन्नका लागि राम्रो सीप अनिवार्य हुन्छ । त्यसैले उनी अफ्ना आफन्त र गाउँले महिलाहरुलाई पनि सीप सिकाउँछिन् । आत्मनिर्भर बन्न उत्प्रेरित गर्छिन् ।

‘सिलाइ–कटाई गर्ने, कपडा बुन्ने गरी २०–२२ जनाभन्दा बढीलाई रोजगारी दिएको छु’, उनी भन्छिन्, ‘दिदी बहिनीहरूले आफ्नो घरको काम सक्काएर आफू अनुकुल घरबाट नै काम गर्नुहुन्छ । मैले उहाँहरुलाई सीप सिकाउँदै आएको छु । उहाँहरूलाई आवश्यक पर्ने सामग्री पनि म आफैँ उपलब्ध गराइदिन्छु ।’

रबिनाले यसका लागि कच्चा पदार्थ भने काठमाडौंबाट लाने गरेकी छिन् । उनले ढाकाको टोपी, सल, कोट, कुर्ता, साडीजस्ता कपडा उत्पादन गरेर बजारीकरण गरिरहेकी छिन् ।

उत्पादन गरेको सामग्री तेह्रथुम, संखुवासभा लगायत देशका विभिन्न ठाउँहरूमा बिक्री गरिरहेकी छिन् । उनको उत्पादन विदेशसम्म पनि पुग्ने गरेको छ । उद्यम गर्न थालेपछि आफूमा आत्मविश्वास बढेको उनले सुनाइन् ।

यी केही प्रतिनिधि पात्र मात्र हुन् । आफ्नै देशमा केही गर्छु भन्ने युवाहरूको संख्या निकै ठूलो भइसकेको छ । र, उनीहरुको सारथि बनेको छ, नबिल बैंक । उसले यस्ता थुप्रै उद्यमीलाई सघाइसकेको छ ।

नवीन ‘कन्सेप्ट’ : दिगो बैंकिङ

वित्तीय पहूँचका माध्यमबाट सामाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा सकारात्मक प्रभाव पर्ने गरी गरिने क्रियाकलापहरूलाई दिगो (सस्टेनेबल) बैंकिङ भन्ने गरिएको छ ।

अन्तरराष्ट्रिय रुपमा सन् १९५० देखि नै ‘सामाजिक बैंकिङ’ शब्दको प्रयोग हुँदै आएको पाइन्छ । तर सन् २०१५ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको १५ वर्षे आवधिक लक्ष्यलाई ‘दिगो विकास लक्ष्य’ घोषणा गर्यो ।

त्यो साल जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुको सम्मेलन (कोप)ले पनि पेरिस सम्झौतामार्फत् हरितगृह ग्यास उत्सर्जन घटाउन प्रोत्साहित गरेको थियो । त्यसयता दिगो बैंकिङको विषयले चर्चा पाउन थालेको हो ।

त्यसपछि बैंकहरूले पनि वातावरण संरक्षण, उत्पादनहरूको पुनः प्रयोग र कार्बनडाइअक्साड लगायत हरितगृह ग्यास उत्सर्जनलाई कटौति गर्ने दिसामा आफ्ना व्यावसायिक नीतिहरु अघि बढाएका छन् ।

‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल (पिकाफ)’ मा विश्वका थुप्रै बैंकहरू आबद्ध छन् । जसमा संलग्न हुनेमा नबिलसहित नेपालका केही बैंक पनि छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले गरेको व्यवसाय (लगानी)बाट वातावरण र समाजलाई सकारात्मक प्रभाव ल्याउनु नै दिगो बैंकिङको मुख्य एजेन्डा हो ।

यस अवधारणा अनुसार अब बैंकले गर्ने लगानी कार्वन उत्सर्जन घटाउने, सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्ने, कागजको उपयोग घटाउने र प्लाष्टिकको प्रयोग न्यून गर्नेतर्फ हुनुपर्छ ।

समाज र पर्यावरणलाई बचाउने खालका उत्पादनमा लगानी गर्नु नै दिगो बैंकिङ हो । नबिल बैंकले अहिले उद्यमशीलता र कृषिलाई सघाउन अघि सारेको अवधारणा पनि यही ‘दिगो बैंकिङ’सँग जोडिएको छ ।

अभ्यासमा नबिल

दिगो बैंकिङ (सस्टेनेबल बैंकिङ)को अभ्यासलाई पछ्याउइरहेको नबिल बैंकले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ । बैंकले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा किसान एवम् साना तथा मझौला उद्यमीलाई कर्जा विस्तार गरिरहेको छ ।

बैंकले ‘नबिल दीगो बैंक’अन्तर्गत किसान कर्जा र उद्यमी कर्जा प्रदान गरिरहेको छ । यी क्षेत्रमा गत चैत मसान्तसम्म बैंकले ४४ अर्ब २४ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरिसकेको जनाएको छ ।

त्यसैगरी घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) र स्टार्ट अप विस्तारका लागि हालसम्म २४ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ ।

नबिल किसान कर्जा र उद्यमी कर्जा कार्यक्रम अन्तर्गत बैंकले खाद्य वस्तु, फलफूल, तरकारी, बिऊविजन र विभिन्न उपकरणमा वित्तीय सहजीकरण गरिरहेको छ ।

नबिल किसान कर्जा र नबिल उद्यमशीलता कर्जाका उद्देश्य पनि कृषिमा उद्यमशीलता गर्ने महिला, युवा तथा उद्यम गर्न चाहनेहरूका लागि वित्तीय सेवाको उपलब्ध गराउने नै हो । साथै, वित्तीय पहुँच कम भएका स्थानहरूमा सहज वित्तीय पहुँच पुर्याएर दिगो विकासमा सक्रीय भूमिका खेल्नु पनि दिगो बैंकिङको मक्सद हो ।

नबिलले दिगो बैंकिङको माध्यमबाट ‘स्वदेशमै सम्भव छ’ भन्ने कुरालाई उजागर गरेको छ । देशमै केही गर्छु भन्ने युवाको हौसला बनेको छ । हितैषी बनेको छ । वित्तीय साक्षरता सिकाउने विद्यालय पनि बनेको छ ।

नबिलले दिगो बैंकिङको माध्यमबाट अहिलेसम्म वित्तीय पहुूँच नपुगेका क्षेत्र तथा देशको सबैभन्दा दुर्गम स्थानहरूमा बैंकिङ साक्षरता र सेवा पुर्याइरहेको छ ।

बैंकले जुम्लाको तिला र बैतडीको पञ्चेश्वरमा वित्तीय सारक्षतासम्बन्धि प्रशिक्षण दिएर सुरू गरेको दिगो बैंकिङ कार्यक्रम अहिले देशभर फैलिएको छ । २०८० चैत मसान्तसम्म दिगो बैंकिङ शीर्षकमा १ खर्ब ३ अर्ब ९० करोड ३० लाख रुपैयाँ कर्जा लगानी भइसकेको बैंकले जनाएको छ ।

स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउन, वित्तीय साक्षरता सुदृढ पार्न, उत्पादित कृषि वस्तुलाई बजारिकरण गर्न र उद्यमशीलता विकास गर्नमा ठूलो योगदान पुर्याउन थालेको छ ।


प्रतिक्रिया दिनुहोस्