यसकारण बढ्यो खानीखोला जलविद्युतको नोक्सानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म खानीखोला जलविद्युत कम्पनीको घाटा झनै बढेको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै नोक्सान बढेको हो ।
यो अवधिसम्म कम्पनी ४७ लाख ९६ हजार रुपैयाँ खुद नोक्सानमा छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ४१ लाख १७ हजार नोक्सानमा थियो ।
सो अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी ५.८१ प्रतिशतले घटेर ११ करोड ७३ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत १२ करोड ४६ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको प्रशासनिक खर्च ३१.२ प्रतिशतले बढेर २ करोड १३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ७ करोड ९ लाख रुपैयाँ बैंकको ब्याज भुक्तानी गरेको छ ।
कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिसम्म ७७ करोड ४९ लाख रुपैयाँ कर्जा लिएको छ । कम्पनीको रिटेन्ड अर्निङ ६ करोड ९७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.०३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८५.०१ रुपैया, मूल्य आम्दानी अनुपात २४१.७७ गुणा र तरलता अनुपात २.३५ प्रतिशत कायम भएको छ ।