न्यूरोड क्षेत्रमा अवैध सुनको कारोबार, १३ प्रतिशत मात्रै बैंकबाट किन्छन् व्यापारीहरु !

काठमाडौं । न्यूरोड क्षेत्रका सुन व्यवसायीहरुले बैंकबाट १३ प्रतिशत मात्र सुन खरिद गरेको महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
आन्तरिक राजश्व कार्यालय नयाँ सडकअन्तर्गतका ४८ करदातालहरुले १३ अर्ब ६० करोड ९७ लाख ६६ हजार बराबरको सुन चाँदी लगायतका मूल्यवान् धातुहरु खरिद गरेका छन् । त्यसमा विश्लेषण गर्दा १३ प्रतिशत मात्रै बैंकबाट खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । व्यवसायीहरुबीचको आपसी खरिदबिक्री २० प्रतिशत रहेको महालेखाले जनाएको छ ।
प्रतिवेदनअनुसार बाँकी ६७ प्रतिशत व्यक्ति–व्यक्तितबाट खरिद गरि खर्च कट्टी दावी गरेको उल्लेख छ । ‘व्यवसायीहरुले खरिद गरेका मूल्यवान् धातुहरुमध्ये वैद्यानिक रुपमा बैंक तथा वित्तीय संस्थाबाट खरिद नगर अन्य व्यक्तिहरुबाट खरिद गरि लागत खर्च कट्टी दावी गरेकोमा खर्च कट्टी अमान्य गरेको छैन भने यस्तो खरिदको भुक्तानी बैंक मार्फत गरेको प्रमाण समेत छैन’, प्रतिवेदनमा भनिएको छ । यस किसिमको खरिदको वैद्यानिक स्रोत सम्बन्धी छानबिन गर्न महालेखा सुझाव छ । छानबिन गरी कर निर्धारण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । नेपालमा सुनको आयात गर्ने सुविधा वाणिज्य बैंकहरुलाई मात्र छ । चाँदी भने व्यक्तिगत फर्महरुले पनि आयात गर्ने पाउने व्यवस्था छ ।
यता, आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज अन्तर्गतका विभिन्न ३ वटा सुनव्यवसायीबीच एक आपसमा खरिदबिक्री कारोबारमा ६१ देखि ८३ प्रतिशत एकै परिवार रहेको पाइएको छ । उनीहरुले आपसमा खरिदबिक्री गरेको देखिन्छ । तर, व्यवसायीहरुले खरिद गरेको उत्पत्तिको स्थान र सुरु आपूर्तक को हो भन्ने नखुलेको पाइएको छ । एक आपसमा खरिद बिक्री कारोबार चित्रण गरेको तर सुरुवाती खरिदकर्ता र बिक्रेता नखुलेको महालेखाले जनाएको छ ।
करदाताको वित्तीय विवरणले सही र यथार्थ चित्रण गरेको छ विश्वस्त हुने नसकेको प्रतिवेदनमा उल्लेख छ । यस्ता विषयमा लेखा टिप्पणी र कर परीक्षण प्रतिवेदनमा केही नखुलाएको पाइएको हो । ‘सुरुवाती खरिदको आपूर्तक नखुलेको ३ करदाताको लागत खर्च कट्टी १५ करोड ९५ लाख ७५ हजार रुपैयाँ अमान्य गरि कर ५ करोड ७४ लाख ४६ हजार र सोमा लाग्ने ब्याज र शुल्क समेत छानबिन गन असुल गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।