वैशाखमा घटे मोबाइल बैंकिङ प्रयोगकर्ता, वालेटमा आकर्षण बढ्दो
काठमाडौं । वैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करीब ३ लाखले घटेको हो
गत चैत मसान्तसम्म २ करोड ४० लाख ५३ हजार ६ सय २९ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या वैशाखमा घटेर २ करोड ३७ लाख ९७ हजार ६ सय ८० कायम भएको छ ।
अघिल्लो वैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७ लाख ६३ हजार ३४६ थियो । गत वर्षको सोही अवधिको तुलनामा प्रयोगकर्ताको संख्या ३० लाख ३४ हजारले धेरै हो । गत आर्थिक वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड १३ लाख ६३ हजार ९८९ थियो ।
यता वालेट प्रयोगकर्ताको संख्यामा भने उल्लेख्य वृद्धि भएको छ । चैतको तुलनामा वैशाखमा वालेट प्रयोगकर्ताको संख्या ४ लाखले बढेको छ । गत चैतमा २ करोड २२ लाख ७७ हजार ४ सय ३२ वालेट प्रयोगकर्ता रहेकोमा वैशाखमा बढेर २ करोड २६ लाख १५ हजार १ सय २२ पुगेको छ ।
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घट्दा इन्टरनेट बैंकिङ प्रयोगकर्ता भने ३४ हजारले बढेका छन् । हाल देशमा १९ लाख ३८ हजार जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता छन् ।
एक महिनाको अवधिमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ११ हजारले बढेर १२ लाख ५१ हजार ४ सय ४० कायम भएको छ । बैंकिङ प्रणालीबाट १ करोड २७ लाख ८९ हजार वटा डेबिट कार्र्ड जारी भएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २८ लाख ६२ हजार मात्र छ ।
वैशाखसम्म मोबाइल बैंकिङबाट ३ खर्ब २० अर्ब १९ करोड रुपैयाँ बराबरको भुक्तानी भएका छन् । वालेट प्रयोग गरी २८ अर्ब रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ ।