सरकारले गर्यो साहित्यमा योगदान पुर्याउने स्रष्टालाई सम्मान, साहित्यकार श्रीहरि फूयाँल महाकवि देवकोटा पुरस्कारबाट सम्मानित
काठमाडौं । सरकारले नेपाली साहित्यमा योगदान पुर्याउने स्रष्टालाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न ११ विधाअन्तर्गत ४७ जना स्रष्टाहरूलाई सम्मान गरेको हो ।
राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार -२०८०, महाकवि देवकोटा पुरस्कार -२०८०, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार -२०८०, इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार -२०८०, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार -२०८०, शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार -२०८०, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार -२०८०, योगमाया राष्ट्रिय पुरस्कार -२०८० र आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार-२०८०मार्फत स्रष्टालाई सम्मान गरेको हो ।
महाकवि देवकोटा पुरस्कार-२०८० बाट वरिष्ठ साहित्यकार श्रीहरि फूयाँल सम्मानित भएका छन् । ‘अदृश्य घाऊ’ कवितासंग्रहबाट उनलाई सम्मानित गरिएको हो । नुवाकोटको ककनी गाउँपालिका ककनीमा जन्मिएका फूयाँल बाल्यकालदेखि नै साहित्य क्षेत्रमा सक्रिय छन् ।
फूयाँलले कविता हुँदै आफ्नो साहित्यिक यात्रालाई निरन्तर अगाडि बढाउने क्रममा २ दर्जन पुस्तक प्रकाशित गरिसकेका छन् । फूयाँलले वि.स २०२९ मा किसान नामक फुटकर कविताबाट साहित्यिक यात्रा प्रारम्भ गरेका थिए ।
पाँचवटा विषयगत क्षेत्रबाट प्रदान गरिने महाकवि देवकोटा पुरस्कारको राशि नगद एक लाख रहेको छ ।
महाकवि देवकोटा पुरस्कारको निबन्ध विधातर्फ काठमाडौंका रोशन थापा ‘नीरव’, बालसाहित्य/लोकसाहित्य विधानतर्फ मोरङका प्रमोद प्रधान, भाषासाहित्यतर्फ कास्कीका प्रा.गोविन्दराज विनोदी र गद्य आख्यान/ नाटक विधातर्फ अविनाश श्रेष्ठ सम्मानित भएका छन् ।
त्यसैगरी, राष्ट्रिय प्रतिभा पुरस्कार-२०८० तर्फ ४ विधामा स्रस्टालाई सम्मान गरिएको छ । भाषा तथा साहित्य विधामा काठमाडौंका बसन्तबहादुर बराकोटी, संस्कृतितर्फ नुवाकोटका केदार प्रसाद पाठक, संगीत एवं नाट्यतर्फ काठमाडौंका माइला लामा र ललितकलातर्फ सन्त कुमार शाक्य पुरस्कृत एवं सम्मानित भएका छन् ।
प्रादेशिक प्रतिभा पुरस्कार २०८० अन्तर्गत भाषा एवं साहित्य विधातर्फ कोशी प्रदेशबाट खोटाङका राम विक्रम थापा, मधेश प्रदेशबाट सप्तरीका बुद्धसेन चौधरी, बागमती प्रदेशबाट ललितपुरका राजु महर्जन ‘जुजु’, गण्डकी प्रदेशबाट तनहुँका भीम बहादुर रानाभाट, लुम्बिनी प्रदेशबाट प्यूठानबाट रिमा केसी, सुदुरपश्चिम प्रदेशबाट सुर्खेतका मान बहादुर चौधरी ‘पन्ना’ र अछामका आर.पी तिमिल्सिना सम्मानित भए ।
प्रादेशिक प्रतिभा पुरस्कार संस्कृति विधातर्फ कोशी प्रदेशबाट भीमप्रसाद योङहाङ, मधेश प्रदेशबाट सर्लाहीका भक्ति प्रसाद रिजाल, बागमती प्रदेशबाट काठमाडौंकी डा. शशी थापा (पण्डित), गण्डकीबाट कास्कीका यारजङ गुरुङ, लुम्बिनीबाट रोल्पाका जीवाब प्रवेश रोकामगर, कर्णालीबाट सल्यानका मनोहर लामिछाने, र सुदूरपश्चिम प्रदेशबाट कैलालीका हरिकृष्ण कडायत सम्मानित भएका छन् ।
प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत सङ्गीत तथा नाट्य विधातर्फ कोशीबाट पाँचथरका धनकुमार ग्याङ्मी, मधेशबाट धनुषाका राजेश कुमार पासवान, बागमतीबाट काठमाडौंकी सरिता गिरी, गण्डकीबाट सागर लम्साल (बले), लुम्बिनीबाट कमल कुमार शर्मा, कर्णालीबाट सुरज पण्डित, र सुदूरपश्चिम प्रदेशबाट विक्रम कुँवर ‘प्रतिक’ सम्मानित भएका छन् ।
राष्ट्रिय प्रतिभा पुरस्कार ललितकला विधातर्फ मोरङकी कोशी प्रदेशबाट सरोजा खड्गी, मधेश प्रदेशबाट मोरङकी सुनैना देवी, बागमतीबाट कृष्ण गोपाल श्रेष्ठ, गण्डकीबाट पदम घले, लुम्बिनीबाट याम बहादुर थापा, कर्णालीबाट सोनाम डोल्मा तामाङ र सुदूरपश्चिम प्रदेशबाट सुरेश कुमार पाल्पाली सम्मानित भएका छन् ।
भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०८० अन्तर्गत मानव अभिकार क्षेत्रतर्फ आनन्द स्वरूप शर्मा, सीप, कला, साहित्य, संस्कृत क्षेत्रतर्फ राजु परियार, समाज सुधार अभियानको क्षेत्र तर्फ झपेन्द्र बहादुर घर्ती र समाज सुधारको अभियानतर्फ मेघराज शर्मा सम्मानित भएका छन् ।
गोपालप्रसाद रिमाल राष्ट्रिय काव्य पुरस्कार- २०८० अन्तर्गत ललितपुरका स्वप्निल स्मृति (सनमान चेम्जोङ) र गोपालप्रसाद रिमाल राष्ट्रिय नाटक पुरस्कारतर्फ सुनिल पोखरेल सम्मानित भएका छन् ।
युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार, २०८० बाट ताप्लेजुङका डा. फणिन्द्रराज निरौला सम्मानित भएका छन् ।
त्यसैगरी, इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार- २०८० डा. जगदीश चन्द्र रेग्मी सम्मानित भएका छन् ।
यी सबै पुरस्कारको राशि राष्ट्रिय तथा संस्थागततर्फ रु एक लाख र प्रादेशिकतर्फ ५० हजार रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले विभिन्न व्यक्तित्वलाई पुरस्कार समर्पण गरी सम्मान गरेका हुन् ।