अर्थमन्त्री पौडेललाई ‘रेड’ कार्पेट : सेयर बजारमा गिरावट, कारोबारमा ८ अर्ब ७३ करोडको उछाल

काठमाडौं । सोमबार सेयर बजारमा गिरावट देखिएको छ । नयाँ सरकार गठनसँगै सेयर बजार बढ्छ भनेर अधिकांशले अपेक्षा गरे पनि दोहोरो अंकको गिरावट देखिएको छ । सोमबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ मन्त्रीमण्डल विस्तार भएको छ । अर्थमन्त्रीमा लगानीकर्ताले रुचाएका विष्णु पौडेल नियुक्त भएका छन् । पौडेलको नाम सुन्ने बित्तिकै सकारात्मक सर्किट लाग्ने बजार आज भने घटेको छ । पौडेललाई सेयर बजारले रातो कार्पेटका साथ स्वागत गरेको छ ।
सोमबार सेयर बजार मापक नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा ओर्लिएको छ । कांग्रेस-एमाले नयाँ सत्ता समीकरणमा सहमति जुटेसँगै बढ्न थालेको बजार नयाँ मन्त्रीमण्डल विस्तार भएलगत्तै घटेको छ ।
यस दिन कारोबारमा भने उछाल देखिएको छ । सोमबार ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँ कारोबार भएको छ । यस दिन ३२२ कम्पनीको २ करोड५० लाख ७९ हजार ७९ लाख कित्ता सेयर किनबेच भयो ।
५६ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घट्यो भने २ कम्पनी स्थिर रहे । कुल १३ उपसमूह मध्ये ४ उपसमूहमा मात्र हरियाली छाएको छ । बाँकी ९ उपसूचकमा रातो पोतिएको छ ।