एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा कतारको दूतावास भ्रमण, नेपालीले भोगेका समस्यामाथि चासो « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा कतारको दूतावास भ्रमण, नेपालीले भोगेका समस्यामाथि चासो



दोहा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासको भ्रमण गरेका छन् ।

त्यहाँ नेपालीहरूले भोगिरहेका समस्याका बारेमा दूतावासका कार्यवाहक राजदूत कुमार राई र प्रथम सचिव कृष्णकुमार सुवेदी, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल लगायतसँग उनले छलफल गरेका छन् ।

कतारमा करिव ४ लाख नेपाली श्रमिक रहेको अनुमान छ । छलफलमा कार्यवाहक राजदूत राईले दूतावासमा कूटनीतिक दरवन्दी १० जनामात्र रहेकाले काम गर्न कठिनाई भइरहेको बताए । त्यहाँ हाल कूटनीतिक क्षेत्रका १० र अन्य स्थानीय १२ जनासमेत गरेर २२ जना कार्यरत रहेका छन् ।

कर्मचारी कम हुँदा राहदानी बनाउन समस्या परेको राईले बताए । श्रम गर्न नेपालबाट आउँदा श्रम स्वीकृती नलिई आउने कामदारको व्यावस्थापनमा अर्को चुनौती रहेको उनले बताए ।

दुतावासका प्रथम सचिव कृष्णकुमार सुवेदीले नेपालबाट आउने महिला श्रमिकलाई घरेलु कामदारको रूपमा म्यानपावर कम्पनीले लैजाने गरेको जानकारी दिए । धेरै महिला कर्मचारीले यस्तै समस्या भोग्नु परेको उनले बताए । सुवेदीले नेपाल र कतारबीच श्रम सम्झौता पुरानो भइसकेको र त्यसलाई पुनर्विचार गर्नुपर्ने अवस्था आएको जानकारी दिए ।

हालको व्यवस्था अनुसार कतारमा नेपाली श्रमिकले मासिक एक हजार रियाल न्यूनतम तलव सुविधा पाउने सझौता छ । उनिहरूले खाना बापत ३ सय रियाल अतिरित्त भुक्तानी पाउँदै आएका छन् ।

सन् २००५ मा कतार र नेपालबीच भएको श्रम सम्झौताकै मातहत रहेक अहिले पनि नेपाली श्रमिकले काम गरिरहनु परेको छ ।

यसका साथै कतारमा कार्यरत नेपालीले श्रम बीमा गर्दा कामको समयको मात्र बीमा हुुने हुनाले कामदारमा समस्या पैदा हुँदै आएको छ ।
त्यस्तै श्रमिकहरुले विभिन्न कानुनी र न्यायिक समस्या पनि झेल्दै आएका छन् । कतारको कानुन उल्लंघन गरेको वा जानकारी बिना नै विभिन्न अभियोगमा ६३ जना नेपाली जेलमा रहेको दूतावासले जनाएको छ ।

एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले रेमिट्यान्स पठाउँदा कुनै शल्क नलाग्ने बनाउनु पर्ने धारणा राखे । उनले हाम्रो जस्तो रेमिट्यान्सले चलेको देशले श्रमिकको मेहनतले कमाएको पैसाको राज्यले अपनत्व लिनुपर्ने बताए ।

उनले भने ‘कतारबाट भित्रिएको रेमिट्यान्सलाई उत्पादनमा जोड्नु पर्छ । नेपाली श्रमिक औपचारिक तालिम र सीपको कमिले सोचेजति लाभ हुन सकेको छैन’, पोखरेलले भने, ‘नेपालको अर्थतन्त्रलाई जोगाउने महत्वपूर्ण अंग रेमिट्यान्स कसरी जीवनस्तर माथि उठाउन उत्पादनशिल क्षेत्रमा जोड्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो ।’

उनले कतारमा रिक्त रहेको राजदूत चाँडै नियुक्त गरेर तमाम समस्याको तत्काल समाधान गर्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस्