सेयरको बजारमा उछाल कायमै : २९ महिना यताकै उच्च बिन्दुमा नेप्से, व्यापार समूहमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । सेयर बजारको उकालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । आज सेयर बजारमा उछाल देखिएको छ । यसदिन सेयर बजारले २५ सयको बिन्दु पार गरेको छ । योसँगै करिब २९ महिनापछि नेप्सेले २५ सय अंक पार गरेको हो ।
आज नेप्से परिसूचक ७५.५३ अंकले बढेर २५६३.४३ बिन्दुमा पुगेको छ । आज १३ वटै उपसूचकमा हरियाली छाएको छ ।
आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँमा किनबेच भएको छ ।
यस दिन व्यापार समूहको सेयर मूल्य सर्वाधिक ५.०६ प्रतिशतले बढेको छ ।
यस दिन २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयरमूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । साहस ऊर्जाको सेयर मूल्य ९..९९ प्रतिशतले बढेको छ ।
यता गणपति लघुवित्त, आरम्भ चौतारी लघुवित्त, मन्दाकिनी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा भने शिवम् सिमेन्ट अग्रस्थानमा छ । कम्पनीले २४ करोड ६९ लाख २३ हजार रुपैयाँको कारोबार गरेको छ । त्यसैगरी अपि पावरको २४ करोड २६ लाख, हिमालयन रि-इन्स्योरेन्सको २३ करोड र शाइन रेसुंगा बैंकको २१ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।