बजारको ‘हट केक’ बन्दै कमजोर वित्तीय सूचक भएका कम्पनी « Arthapath.com
२० श्रावण २०८१, आईतवार

बजारको ‘हट केक’ बन्दै कमजोर वित्तीय सूचक भएका कम्पनी



काठमाडौं ।  २०७८ सेयर बजारका लागि ऐतिहासिक वर्ष रह्यो । उक्त वर्ष सेयर बजारमा रेकर्ड नै रेकर्ड बने । बजारको वृद्धिसँगै कमजोर वित्तीय अवस्था भएका कम्पनीको सेयर मूल्य पनि अस्वाभाविक रूपमा नै उचालियो । ऋणात्मक प्रतिसेयर आम्दानी (ईपीएस), नोक्सानमा रहेका कम्पनी,  प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, मूल्य आम्दानी अनुपात १०० भन्दा माथि रहेका कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा ८ सय प्रतिशतभन्दा बढीले वृद्धि भयो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले यसरी अस्वाभाविक रूपमा सेयर मूल्य बढाइएका ५१ कम्पनीको सूची नै सार्वजनिक गरेर ती कम्पनीमा लगानी गर्नु जोखिम रहेको भन्दै सार्वजनिक सूचना नै जारी गर्यो । बोर्डको उक्त सूचनाले सेयर बजार नै तरंगित बन्यो ।

वित्तीय रूपमा नाजुक रहका कम्पनीहरुको मूल्य भने दिन दुईगुणा, रात चौगुना बढ्ने अवस्था फेरि अहिले पनि दोहोरिएका छन् । कम्पनीको सेयर मूल्य उचालिनुको पछाडि न कम्पनीको वित्तीय विवरण राम्रो छ, न त प्राविधिक रूपले नै सबल छन् । तर हावा भरिएको बेलुन झैँ गरी सेयर मूल्य बढेको देखिन्छ ।

पछिल्लो एक वर्षमा नेप्सेमा सूचीकृत कम्पनीहरूको मूल्य ८ सय प्रतिशतसम्म बढेका छन् ।

एक वर्षको अवधिमा विभिन्न कम्पनीको सेयर मूल्यमा अत्यधिक बढोत्तरी देखिएको छ । त्यसको एउटा उदाहरण हो-सिटी होटल । गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण हेर्ने हो भने कम्पनी १५ करोड ३७ लाख रुपैयाँ नोक्सानमा छ ।

कम्पनीको वित्तीय स्वास्थ्य अत्यन्त नाजुक देखिन्छ । कम्पनीको नाफा विश्लेषण गर्ने महत्वपूर्ण सूचक प्रतिसेयर आम्दानी (इपीएस) नै नकारात्मक छ । कम्पनीको इपीएस ९.१८ रुपैयाँ ऋणात्मक छ । मूल्य अनुपात आम्दानी (पीई रेसियो) ६४.८१ गुणा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ अंकित मूल्यभन्दा कम अर्थात् ९४.३६ रुपैयाँ मात्र छ । तर कम्पनीको सेयर मूल्य भने यसरी आकासिएको छ कि लाग्छ यो कम्पनी लगानीको लागि उत्कृष्ट छ । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य २९.२० प्रतिशतले बढेको छ । एक वर्ष अघि ५०३.७० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य अहिले बढेर ९६५.८० रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनाको अवधिमा कम्पनीको सेयर मूल्य ४२.८६ प्रतिशतले बढिसकेको छ ।

असार १७ गते ६७६ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य श्रावन १७ गते ९६५.८० पुगेको हो ।

नेप्सेमा यो कम्पनीको एक करोड ६७ लाख ४० हजार कित्ता सेयर सूचीकृत छ ।  जसमध्ये ९० प्रतिशत हिस्सा संस्थापकको छ । १० प्रतिशत अर्थात् १६ लाख ७४ हजार कित्ता सेयर मात्र सर्वसाधारणको छ । त्यसो हुँदा पनि संस्थाको सेयर मूल्यमा चलखेल हुने सम्भावना देखिन्छ । पछिल्लो एक महिना यता यो कम्पनीको सेयर मूल्य अचाक्ली बढिरहेको छ ।

अत्यधिक मूल्य बढ्ने मध्येको अर्को कम्पनी हो – मुक्तिनाथ कृषि कम्पनी । यो कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा ९०७.८२ प्रतिशतले बढेको छ । एक वर्षको अवधिमा यो कम्पनीको सेयर मूल्य १७८.८० बाट बढेर १८०२ रुपैयाँ हो । एक महिना अघिसम्म कम्पनीको सेयर मूल्य १२६४ रुपैयाँ थियो ।

यो कम्पनीको वित्तीय विवरण पनि कमजोर नै छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ४.०५ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ पनि ९३.७५ रुपैयाँ मात्र छ, भने मूल्य अनुपात आम्दानी २२८.८७ गुणा छ ।

७० लाख कित्ता सेयर सूचीकृत रहेको यस कम्पनीमा सर्वसाधारणको २० प्रतिशत हिस्सा मात्र छ । अर्थात् कम्पनीको १४ लाख कित्ता सेयर मात्र सर्वसाधारणले खरिदबिक्री गर्न पाउँछन् । तेस्रो त्रैमाससम्म २ करोड १२ लाख नाफा कमाएको देखिन्छ ।

यता, नेपाल वेयरहाउसिङ कम्पनी खराब वित्तीय सूचक भएर पनि बजारमा अधिक महँगो छ । गत बिहीबार कम्पनीको सेयर मूल्य ११८० रुपैयाँ पुगेको छ । एक वर्षमा यो कम्पनीको सेयर मूल्य ५०५.३६ प्रतिशतले बढेको छ । एक वर्षअघि २०८.८० रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य अहिले १२६४ पुगेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी २२.१७ रुपैयाँ ऋणात्मक र प्रतोसेयर नेटवर्थ ७५.१० रुपैयाँ छ । पीई रेसियो  ३३.८४ गुणा ऋणात्मक छ ।

नेप्सेमा कम्पनीको ६८ लाख ७५ हजार कित्ता सेयर सूचीकृत छ । जसमा १३ लाख ७५ हजार कित्ता सेयर मात्र सर्वसाधारणले खरिदबिक्री गर्न पाउँछन् ।

यी प्रतिनिधि कम्पनी मात्र हुन् । अहिले नेप्सेमा वित्तीय अवस्था कमजोर रहेका यस्तै कम्पनीको भाउ छोईनसक्नु महँगो छ । यस्ता कम्पनीहरुमा दिनहुँजसो सकारात्मक सर्किट लागिरहेका छन् । अझ भनौं कमजोर वित्तीय सूचक भएर पनि हट केक बनिरहेका छन् यस्ता कम्पनीहरू ।

यी कम्पनीहरूबाट लगानीकर्ता आफैं सजग बन्नुपर्ने बेला आएको छ ।


प्रतिक्रिया दिनुहोस्