चेक बाउन्सका घटना कम गर्न बैंकिङ कसुर सम्बन्धी ऐन संशोधन गरिँदैछ : अर्थमन्त्री पौडेल « Arthapath.com
९ भाद्र २०८१, आईतवार

चेक बाउन्सका घटना कम गर्न बैंकिङ कसुर सम्बन्धी ऐन संशोधन गरिँदैछ : अर्थमन्त्री पौडेल



काठमाडौं । चेक अनादर (बाउन्स) का घटनालाई कम गर्ने बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐनलाई सरकारले संशोधन गरिने भएको छ । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले चेक बाउन्सका घटनालाई कम गर्ने बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्न लागिएको जानकारी दिए ।

अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरुमा बैङ्किङ कसुर र चेक अनादरसम्बन्धी घटना उल्लेख्य रुपमा बढेको बताए । ‘पछिल्ला दिनहरुमा बैंकिङ कसुरका घटनाहरु बढ्दै गरेको र विशेषगरी चेक अनादरका घटनाहरुले समाजलाई आक्रान्त पारेको अवस्था थियो । यी सबै अवस्थामा दृष्टिगत गरेर हामीले बैंकिङ कसुर वा सजाय ऐनमा संशोधन गर्नु पर्ने महशुस गरेर सरकारले बैकिङ कसुर तथा सजाय ऐन,२०६४ संशोधन प्रस्ताव गरेको हो । संसदबाट अहिले दफाबार छलफलका लागि समितिमा आएको छ ।’ अर्थमन्त्री पौडेलले भने ।

खातामा पैसा नहुँदा पनि चेक काटेर दिने प्रवृत्ति अन्त्यका लागि सरकारले बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐनलाई संशोधन गर्न लागेको हो । बैंकिङ कसुरका कसुरदारलाई जेल नै हाल्नुभन्दा नगद जरिवाना गराउनु उपयुक्त हुने सुझाव समेत बैठकमा सहभागी वक्ताहरूले दिएका छन् ।

अर्थमन्त्री पौडेलले पछिल्लो समय बैंकिङ कसुरका घटनाहरुको अत्याधिक चाप भएकाले मुद्दाको व्यवस्थापन गर्न न्याय निरुपन गर्ने निकायहरुमा समस्या भएको बताए । चेक अनादरसम्बन्धी ऐनमा कडा नीति अपनाउनुपर्ने भएकाले संशोधन गर्न लागिएको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्