चिनी आयातमा लाग्ने भन्सारमा ५० प्रतिशत छुटदेखि यस्ता छन् मन्त्रिपरिषदको १० निर्णय
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक भएका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्को बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५/१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिइने भएको हो ।
बैठकले कांग्रेस नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदुतमा सिफारिस गर्ने निर्णय गरेको छ ।
नेपाल विद्युत प्राधिकरण र एस.जे.भि.एन. लिमिटेडविच संयुक्त उपक्रममार्फत अरुण-४ जलविद्युत आयोजनाको विकासको लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।