पासाङ ल्हामु राजमार्गको स्तरोन्नती अड्कियो, डा. महतले कूटनीतिक पहल गर्ने « Arthapath.com
१९ मंसिर २०८१, बुधबार

पासाङ ल्हामु राजमार्गको स्तरोन्नती अड्कियो, डा. महतले कूटनीतिक पहल गर्ने



काठमाडौँ । नुवाकोटको पासाङ ल्हामु राजमार्ग अन्तरगत रानीपौवा–पिपलटार खण्डको काम अघि बढाउन आवस्यक पहल गरिदिन सडक विभागले पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेको छ । विभाग अन्तरगतको सडक सुधार परियोजनाका प्रमुख थानेश्वर अर्याल सहितको टोलिले बुधबार विहान डा. महतको घरमै पुगेर यस्तो आग्रह गरेको हो ।

यो सडक स्तरोन्नतिका निम्ति भारतीय आयात–निर्यात (एक्जिम) बैंकले लगानी गर्ने सम्झौता छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको भारत भ्रमणको क्रममा प्रतिबद्धता जनाइएको यस परियोजनाका सम्बन्धमा डा. रामशरण महत अर्थमन्त्री हुँदा सम्झौता भएको थियो ।

तर लामो समयसम्म आयोजनाको काम अघि बढ्न सकेको थिएन । डा. प्रकाशशरण महत अर्थ मन्त्री भएका बेला उनले पुरानो ठेक्का सम्झौता तोडेर बालाजुदेखि रानीपौवाभन्दा ३ किलोमिटर तलसम्मको ठेक्का लगाएका थिए । बाँकी सडक खण्डको ठेक्का लाग्न नसकेको नेपाली कांग्रेस नुवाकोटका सहसचिव उत्तम पाठकले जानकारी दिए ।

‘दोस्रो खण्डको लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर भारतीय दूतावासमार्फत् अहिले भारतको विदेश मन्त्रालयमा फाइल पुगेको छ,’ पाठकले भने, ‘अब त्यसलाई छिटो अघि बढाउन कूटनीतिक पहल आवस्यक भएको भन्दै सडक सुधार आयोजनाका पदाधिकारीले पूर्वमन्त्री डा. महतसँग भेट गर्नुभएको हो ।’

डा. महतले यो सडक वर्षौँदेखि अवरुद्ध हुँदा नुवाटकोट र रसुवाका हजारौँ नागरिकले दुःख पाएको र ककनी लगायतनका पर्यटकीय क्षेत्रहरुमा मानिसको पहूँच कम भएको भन्दै तुरुन्तै काम अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘हामी भारतीय पक्षलाई छिटो सहायता परिचालन गरी काम अघि बढाउन कूटनीतिक पहल गर्छौँ’, डा. महतले भने, ‘यदी कुनै कारणवश भारतीय सहायता प्राप्त हुन नसक्ने अवस्था आयो भने आन्तरिक श्रोतबाटै पनि यो सडकको स्तरोन्नती गर्न पहल गर्छु ।’

नेपालमा सुरुआति चरणमै बनेका सडक आयोजनाहरुमध्येको यो सडक पनि एक हो । तर लामो समयदेखि यो आयोजना अलपत्र परेको छ । यस आयोजनाको निर्माण सम्पन्न गर्न आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता डा. महतले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्