अपडेट : भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो
काठमाडौं । चीनको पहाडी तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ६२ जना घाइते भएका छन् । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।
नेपाल र भारतका केही भागमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा भवनहरू भत्किएका छन् भने मानिसहरू भागेर सडकमा निस्किएका थिए। यस क्षेत्रमा विद्युत र खानेपानी दुवै अवरुद्ध भएको छ । नेपालमा भूकम्पको धक्का महसुस भए तापनि कुनै क्षति वा मानवीय क्षति भने भएको छैन ।