पोल्याण्ड पठाइदिन्छु भन्दै ७२ लाख ठगी गर्ने दुई जनाको हातमा लाग्यो हतकडी
काठमाडौँ । वैदेशिक रोजगारमा युरोपेली देश पोल्याण्ड ‘पठाइदिन्छु’ भनेर पैसा ठगेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सप्तरीको बिष्णुपुर गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौं महानरगपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बराम रहेका छन् ।
प्रहरीका अनुसार कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपैयाँ र राजेशले ८ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको आरोप लगाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।