आगामी सालको पञ्चाङ्गमा भिन्न सिद्धान्तबाट गणना, केतकीय पद्धतिले के फरक पर्ला ?
काठमाडौँ । विक्रम सम्वत् २०८२ को पञ्चाङ्ग पात्रो माघ अन्तिमसम्म बजारमा ल्याउन आफूहरु प्रयासरत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक तथा सदस्य–सचिव सूर्यप्रसाद ढुङ्गेलले अहिले पञ्चाङ्गहरुको रुजु गर्ने काम धमाधम भइरहेको बताए । ‘पात्रो लेख्नेहरुसँगै छलफल गर्ने र रुजु गर्ने काम भइरहेको छ’, उनले भने ।
माघको पहिलो हप्तासम्ममा रुजु गर्ने काम सिध्याएर छपाइका लागि स्वीकृति दिने तयारी रहेको ढुंगेल बताउँछन् । यही रफ्तारमा काम भए अबको एक महिनामा नयाँ सालको पात्रो बजारमा उपलब्ध हुन थाल्ने छ । ‘सकेसम्म माघको अन्तिम हप्तासम्म बजारमा पात्रो पुगिसक्ने गरी काम गर्ने प्रयासमा छौँ’, उनले भने, ‘नभए पनि मध्ये फागुनसम्म बजारमा आइसक्ने छ ।’
अहिले १५ ओटा पुराना र ५ वटा नयाँ गरी २० वटा पञ्चाङ्ग पात्रोहरु स्वीकृतिका लागि समितिमा आएको ढुंगेलले बताए । समितिले गत सउन २५ मा सूचना निकाले पञ्चाङ्ग स्वीकृतिका लागि निवेदन दिन आह्वान गरेको थियो ।
पञ्चाङ्ग प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले ‘सूर्यसिध्दान्तको मूल सूत्रबाटै ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाड, पर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषयहरू समावेश भएको पञ्चाङ्ग’ गणना गरी सोको प्रतिलिपि समितिको सचिवालयमा बुझाउन सूचनामा भनिएको थियो ।
यस यसरी पञ्चाङ्गको प्रतिलिपि बुझाउने म्याद गएको भदौ मसान्तसम्ममात्रै दिइएको थियो ।
आगामी वैशाखबाट लागू हुने गरी समितिले पञ्चाङ्गलाई समयसापेक्ष परिमार्जन गर्दै केतकीय ग्रहगणित सिद्धान्तलाई समेत अवलम्वन गर्न लागेको छ । विगतमा सूर्य सिद्धान्तका आधारमा मात्रै गणना गर्दा आकशीय पिण्डहरुको वास्तविम स्थिति नदेखिएको हुनसक्ने आँकलन भएपछि वैकल्पिक सिद्धान्तबाट पनि गणना गर्न लागिएको ढुङ्गेलले बताए । यसो गर्दा तिथि र तारेखमा फरक नपरे पनि ग्रहहरुको संरचना भने फेरबदल देखिन सक्छ ।
यसअघि भिन्न सिद्धान्तमा आधारित पात्रोहरुलाई समितिले स्वीकृति नै नदिने गरेको थियो । यस पल्ट पनि सूचना प्रकाशित गर्दा नै भनिएको छ, ‘समितिले अङ्गीकार नगरेका फरक सिद्धान्तबाट निर्माण भएका पञ्चाङ्गहरूलाई स्वीकृति प्रदान गरिने छैन ।’
त्यसैले बजारमा केही पञ्चाङ्गहरु छापिएरै आइसकेको भए पनि उनीहरुले समितिको स्वीकृति लिएका छैनन् । आफूलाई ‘कानूनभन्दा माथिको’ सम्झने पञ्चाङ्गहरुले स्वीकृति लिनु नपर्ने ढुंगेल बताउँछन् । ‘उहाँहरु कानूनभन्दा माथि हुनुहुन्छ । उहाँहरुलाई यस्तो नियम लाग्दै लाग्दैन’ उनले भने ।
समितिले नयाँ पञ्चाङ्गकारहरूको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र वर्तमान वर्षको गणनाको सबै आधार एवम् खेस्रा गणितसमेत पेश गर्नुपर्ने भनेको छ । तर पुराना पञ्चाङ्गहरुलाई भने यस्तो विशेष नियम लाग्दैन ।
समितिले भित्तेपात्रोहरुलाई पनि स्वीकृति लिनुपर्ने भनेका छ । तर यस्ता भित्तेपात्रोहरुले स्वीकृति लिएको खासै देख्न पाइँदैन । राज्यलाई थाहा हुनुपर्छ भन्ने मान्यतामा स्वीकृतिको प्रक्रिया अघि बढाएको भए पनि कतिपयलाई यो नियम नै थाहा नभएको र कतिपयले बेवास्ता गरेको ढुंगेल बताउँछन् । तै पनि वार्षिक ४ देखि ५ सय हाराहारी भित्तेपात्रोहरुले स्वीकृति लिन थालेको उनले बताए ।