प्राधिकरणले काट्यो १९ हजार बढी ग्राहकको लाइन, तिरेनन् ७२ करोड ३० लाख बक्यौता

काठमाडौं । बक्यौता नतिर्ने १९ हजार बढी ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरणले एक महिनाको अवधिमा ७२ करोड बढी बक्यौता नबुझाउने ग्राहकको लाइन काटेको हो ।
गत पुस २ गतेदेखि २८ गतेसम्म आइपुग्दा प्राधिकरणले ७२ करोड ३१ लाख ६४ हजार रुपैयाँ बराबरका बक्यौता बाँकी रहेका १९ हजार २३२ ग्राहकको लाइन काटेको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै लाइन मधेश प्रदेश प्रादेशिक कार्यालय जनपुरमा ६ हजार ३६८ साना ग्राहकको लाइन काटिएको छ । सो कार्यालय मार्फत १८ करोड ११ लाख ४ हजार रुपैयाँ बक्यौता बाँकी छ ।
यस्तै, कोशी प्रदेशको प्रादेशिक कार्यालय विराटनगरले पनि ३ हजार २९१ ग्राहकको लाइन काटेको हो । सो कार्यालय मार्फत उठ्न बाँकी बक्यौता ३ करोड ५९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
सबैभन्दा धेरै बक्यौता भने लुम्बिनी प्रादेशिक कार्यालय बुटवल मार्फत देखिएको छ । सो कार्यालय मार्फत ३८ करोड ८३ लाख ४५ हजार रुपैयाँ बराबरको बक्यौता बाँकी छ । सो अवधिमा कार्यालयले भने २ हजार ४४० साना ग्राहकको लाइन काटेको छ ।
यता, बागमती प्रादेशिक कार्यालय काठमाडौंले पनि १ हजार ५४८ वटा ग्राहकको लाइन काटेको छ। सो कार्यालय मार्फत ३ कराड १० लाख २२ हजार रुपैयाँ बक्यौता बाँकी छ ।
यस्तै, बागमतीमा भने प्रदेश डिभिजन कार्यालय हेटौंडा मार्फत ७०४ वटा ग्राहकको लाइन काटिएको छ । सो कार्यालय मार्फत २ करोड ५९ लाख ५१ हजार रुपैयाँ बाँकी छ ।
समिक्षा अवधिमा सुदुरपश्चिम प्रादेशिक कार्यालयले ८८८ वटा, कर्णालीले १ हजार ११२,प्रदेश डिभिजन कार्यालय नेपालगञ्जले १ हजर ६३३, प्रादेशकि कार्यालय पोखराले १ हजार २४८ वटा ग्राहकको लाइन काटेको छ ।
झन्डै २३ करोड बक्यौता तिरेपछि १४ हजार ग्राहकको लाइन जोडियो
सो अवधिमा १४ हजार बढी ग्राहकले झन्डै २३ करोड बक्यौता तिरेपछि लाइन जोडिएको छ । प्राधिकरणका अनुसार सो अवधिमा २२ करोड ८४ लाख ५९ हजार रुयैयाँ बक्यौता तिरेका छन् । बक्यौता तिरेपछि १४ हजार १११ ग्राहको विद्युत लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।
यद्यपि, ५ हजार १२१ ग्राहकको लाइन जोड्न बाँकी छ । उनीहरुको ४९ करोड ४७ लाख रुपैयाँ बराबरको बक्यौता बाँकी छ । सो बक्यौता तिरेपछि लाइन जोडिने प्राधिकरणले जनाएकोछ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै बक्यौता प्रादेशिक कार्यालय जनकपुर मार्फत ८ करोड २५ लाख ९४ हजार रुपैयाँ उठेको छ । सो क्षेत्रका ३ हजार ७६८ ग्राहको लाइन जोडिएको छ । यस्तै, ३ करोड २० लाख ८१ हजार रुपैयाँ बक्यौता तिरेपछि विराटनगर क्षेत्रका २ हजार ८४२ ग्राहकको लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।
यस्तै, बागमती प्रादेशिक कार्यालय अन्तर्गतका १ हजार २६९, पोखराका १ हजार ५४, बुटवलका २ हजार १५१, नेपालगञ्जका १ हजार २३६, हेटौंडाका ४६७, सुर्खेतका ८२१ र अत्रिया सुदुरपश्चिमका ५०३ वटा ग्राहकको लाइन जोडिएको छ ।
