सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज हुने « Arthapath.com
११ माघ २०८१, शुक्रबार

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज हुने



काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज हुने भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ।

मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति हुने छ । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्याधिक पहिरो झर्ने क्षेत्र पर्छ। सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो।

यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी निर्माणको ठेक्का लगाएको थियो। सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ। तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो। त्यहाँ पहिलो बाइपासको लम्बाइ १५१ मिटर, दोस्रोको लम्बाइ १६१ मिटर र तेस्रोको १३० मिटर छ। पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो। सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ।

विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो। सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन्।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेको थियो। उक्त कम्पनीले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको २ हजार ७०० मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको जानकारी सरकारलाई दिएको थियो। सोही सुझावअनुसार सुरुङमार्ग निर्माणको निर्णय भएको हो।

२०७६ मङ्सिर २ गते सुरुङमार्गका लागि १० अर्ब १५ करोड स्रोत सुनिश्चित भएको थियो। हाल त्यहाँ दैनिक ४० जना चिनियाँ र नेपाली दक्ष, अर्धदक्ष र अदक्ष गरी १५० जनाले नियमित काम गरिरहेका छन्। छिचोलिएको सुरुङभित्र पसेर सेकेण्डरी सपोर्टको काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्