साहस उर्जा ६ महिनामै बेच्यो डेढ अर्बको बिजुली, कमायो ७१ करोड नाफा

काठमाडौं । साहज उर्जा लिमिटेडले ६ महिनामै झन्डै ७१ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा करिब ५५ प्रतिशत वृद्धि भएको छ।
कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत पुस मसान्तसम्म आइपुग्दा कम्पनीको नाफा ५४.८७ प्रतिशत बढेर ७० करोड ९८ लाख ८२ हजार रुपैयाँ पुगेको छ । जबकि, गत आवको सोही अवधिमा भने यस्तो नाफा ४५ करोड ८६ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
६ महिनामा कम्पनीले १ अर्ब ६१ करोड ५६ लाख ५७ हजार रुपैयाँ बराबरको बिद्युत बिक्री गरेको छ । गत वर्षको तुलनामा भने यो सामान्य बढी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ५३ करोड ३६ लाख ७० हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । कम्पनीले वित्तीय खर्च पनि घटाउँदै ल्याएको देखिन्छ भने विद्युत बिक्रीमा बढोत्तरीसँगै खुद नाफामा सुधार आएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने २ अर्ब ९७ करोड ७१ लाख ८० हजार रुपैयाँ राखेको छ ।
यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ३७.५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७८.९० रुपैयाँ कायम भएको छ ।