नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमा नयाँ पहल « Arthapath.com
२७ माघ २०८१, आईतवार

नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमा नयाँ पहल



काठमाडौं । द कोका–कोला फाउण्डेशनको साथमा सहारा नेपाल र वराहा क्लाइमेटएजी प्रा.लि.ले नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु प्रतिरोधात्मक क्षमता प्रवद्र्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सुरु गरेको छ । “स्ट्रेन्दनिङ रिजेनेरेटिभ हर्टिकल्चर एण्ड एग्रोफरेस्टी इन नेपाल” नामक मुख्य परियोजना अन्तर्गत यो पहल सुरु गरिएको हो जसले मुख्यतः कृषिसम्बन्धी चुनौतीहरूको समाधान र जमिनको उत्पादनमा वृद्धि गर्दै स्थानीय कृषक समुदायलाई सहयोग पुर्याउने लक्ष्य राखेको छ ।

यस वृक्षारोपण कार्यक्रमको औपचारिक उद्घाटन समारोह आज काठमाडौंमा आयोजना गरिएको थियो । यस कार्यक्रममा प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीसहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, वातावरणविद् र साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपालको कृषि क्षेत्रले जलवायु परिवर्तन र घट्दो उत्पादकत्वका कारण धेरै चुनौतीहरू सामना गरिरहेको छ । जलवायु परिवर्तनले अनियमित वर्षा, पानीको अभाव र चरम मौसमी प्रतिकुलता जस्ता समस्याले स्थितिलाई झनै गम्भिर बनाएको छ । यी चुनौतीहरूको समाधान गर्न यस परियोजनाले बगैंचा प्रणाली र कृषि वन प्रणालीलाई प्रवर्द्धन गर्दै उत्पादन वृद्धि र कृषकको आम्दानी बढाउने लक्ष्य लिएको छ । यो कार्यक्रममा बगैंचासम्बन्धी प्रविधिक तालिमहरू प्रदान गरिनेछ जसले कृषकहरूलाई माटोको स्वास्थ्य सुधार, पानीको प्रभावकारी व्यवस्थापन र बालीको विविधिकरण गर्न सहयोग पुर्याउनेछ ।

द कोका–कोला फाउण्डेशनका प्रेसिडेन्ट कार्लोस पागोआगाले फाउन्डेसनले सदैव दीर्घकालीन वातावरणीय र आर्थिक उन्नतिका परियोजनामा लगानी गर्दै आएको बताए । नेपालको कृषि क्षेत्रलाई रूपान्तरण गर्न, कृषकहरूलाई जलवायु चुनौतीहरू सामना गर्न र आम्दानीका नयाँ अवसरहरू सिर्जना गर्न यो परियोजना एउटा महत्वपूर्ण कदम हुने उनको भनाइ छ ।

यो वृक्षारोपण कार्यक्रमको पहिलो चरण अन्तर्गत कञ्चनपुर, कैलाली, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, सर्लाही, महोत्तरी र पर्सामा सञ्चालन हुनेछ । त्यस्तै दोस्रो चरणमा कर्णाली प्रदेशका जुम्ला र कालिकोट जिल्लामा वृक्षारोपण विस्तार हुनेछ । यस पहलमार्फत हजारौं कृषकहरूले फलफूल उत्पादन वृद्धि, बाली विविधिकरण, माटोको स्वास्थ्य सुधार, पानी संरक्षण, रोग नियन्त्रण र आम्दानीका अतिरिक्त अवसरहरू प्राप्त गर्नेछन् । कृषि वन प्रणालीलाई समावेश गर्दै यस परियोजनाले वातावरण संरक्षण र आउँदो पुस्ताका लागि जमिन व्यवस्थापनमा योगदान पुर्याउनेछ । साथै, यस परियोजनाले कार्बन क्रेडिट प्रणालीको पनि समावेश गर्दै कृषकहरूलाई जलवायु परिवर्तन न्यूनीकरणमा योगदान दिनुका साथै थप आम्दानीका अवसरहरू पनि प्रदान गर्नेछ ।

नेपालको कृषि भविष्यका लागि यो वृक्षरोपण कार्यक्रमको महत्वलाई स्वीकार गर्दै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले यो पहलले नेपालको कृषि र वातावरणीय चुनौतीहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताए । पुनरुत्पादक वृक्षरोपण प्रविधि अपनाएर हामीले यस परियोजना मार्फत कृषकहरूको जीवनस्तर सुधार गर्नुका साथै भूमिको दिगोपना बढाउन र जलवायु परिवर्तनको सामना गर्न सहयोग पुर्याउने उनको भनाइ थियो ।

सहारा नेपालका अध्यक्ष भरत कुमार गिरीले पनि यस सहकार्यले कृषकहरूलाई दिगो कृषि अभ्यासहरूमा सशक्त बनाउने र उत्पादनशीलता वृद्धि गर्नुका साथै वातावरणीय संरक्षणमा पनि सहयोग पुर्याउने बताए ।

त्यसैगरी वराहा क्लाइमेटएजीका प्रतिनिधि कौशल बिष्टले कृषि वन प्रणाली र कार्बन क्रेडिट प्रणालीलाई एकीकृत गर्दै हामी यस्तो मोडेल सिर्जना गर्दैछौं जसले कृषकहरूलाई आर्थिक वृद्धिका साथसाथै जलवायु प्रतिरोधात्मक क्षमता निर्माणमा पनि सहयोग पुर्याउने बताए ।

द कोका–कोला फाउण्डेशनले नेपालमा वातावरण संरक्षण, पानी व्यवस्थापन, विपद् राहत र आर्थिक विकासमा केन्द्रित विभिन्न पहलहरू गर्दै आएको छ । यो वृक्षारोपण कार्यक्रम फाउण्डेशनको समुदायमा दीर्घकालीन परिवर्तन सिर्जना गर्ने प्रतिबद्धताको अर्को एक उदाहरण हो ।


प्रतिक्रिया दिनुहोस्