चिटिक्क बन्दै दरबारमार्गको फुटपाथ, धमाधम ग्रेनाइट बिछ्याइँदै (फोटोफिचर) « Arthapath.com
८ फाल्गुन २०८१, बिहीबार

चिटिक्क बन्दै दरबारमार्गको फुटपाथ, धमाधम ग्रेनाइट बिछ्याइँदै (फोटोफिचर)



काठमाडौं । केहीदिन यता काठमाडौंको दरबारमार्ग चर्चामा छ । सामाजिक सञ्जालदेखि मिडियासम्म दरबारमार्ग हटकेक बनेको छ । कारण हो- दरबारमार्गको फुटपाथमा बिछ्याइएको ग्रेनाइट । काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा अहिले धमाधम ग्रेनाइट बिछ्याइरहेको छ । उक्त विषयले चौतर्फी चर्चा पाइरहेको छ ।

दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर सहरको आधुनिकताले नेवाः संस्कृति र सभ्यतासँग तादात्म्य राख्नुपर्ने कतिपयको धारणा छ । विशेष गरी सर्वसाधारणभन्दा पनि राजनीतिक दल निकटका व्यक्तिहरूले महानगरको यो कामको आलोचना गरिरहेका छन् । त्यस्तै, कतिपयले वर्षामा चिप्लिने समस्या हुँदा यात्रुको सुरक्षाका हिसाबले ग्रेनाइट उपयुक्त नहुने बताइरहेका छन् । महानगर सार्वजनिक निर्माण विभागले भने पैदलयात्री हिँड्ने बाटोमा खस्रो खालको ग्रेनाइट राखिएको हुँदा चिप्लो नहुने बताएको छ ।

महागरपलिका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नै बोली फेरेको भन्दै कतिपयले आलोचना समेत गरेका छन् ।

सामाजिक सञ्जालमा बालेन शाह मेयर हुनुभन्दा अगाडिको अन्तरवार्तामा बोलेको पूरानो भिडियो समेत भाइरल छ । जहाँ बालेन शाहले काठमाडौंका लागि मार्वल, टायल तथा कंक्रिटका संरचना उपयुक्त नभएको बताएका थिए ।

बालेनले भनेका थिए, “तपाईंले यी कुरा नबुझिकनै रिकन्स्ट्रक्सन गरिदिनुहुन्छ । मोर्डन देखिन्छ भनेर बबाल खालको टायल लगाइदिउँ, मार्बल लगाइदिउँ भनेर भएन नि त ! मार्बल किन लगााइँदैनभन्दा यो चिसो ठाउँ हो । यहाँ खुट्टा ठिहिर्‍याउँछ, तपाईं हिँड्नै सक्नुहुन्न । इट्टा त त्यति चिसो हुँदैन नि त !”

तर, अहिले उनले आफैंले भनेको कुरा बिर्सिएर दरबारमार्गको फुटपाथमा ग्रेनाइट बिच्छ्याएका छन् । कतिपयले भने महानगरको यो कदमलाई राम्रो भनेर प्रतिक्रिया दिइरहेका छन् ।

महानगरले नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फ फुटपाथमा ग्रेनाइट लगाइरहेको छ । महानगरले दरबारमार्गमा कुल १ हजार ८७७ वर्गमिटर ग्रेनाइट बिछ्याउँदैछ ।

२०८०/८१ को कार्यक्रमअनुसार महानगरले दरबारमार्ग क्षेत्रको १८७७ वर्गमिटर क्षेत्रमा ग्रेनाइट बिच्छ्याउने योजनाका लागि कुल पाँच करोड १४ लाख ७६ हजार ५७ रुपैयाँ छुट्याएको थियो ।

व्यापारिक क्षेत्र भएकाले दरबारमार्गमा ‘सौन्दर्यीकरण’का लागि ग्रेनाइट बिछ्याइएको महानगरको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्