एमडीएमएस भ्रष्टाचार, दुई पूर्व अध्यक्ष दोषि ठहर, बाँकी कर्मचारीलाई सफाइ « Arthapath.com
२३ फाल्गुन २०८१, शुक्रबार

एमडीएमएस भ्रष्टाचार, दुई पूर्व अध्यक्ष दोषि ठहर, बाँकी कर्मचारीलाई सफाइ



काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा नेपाल दूरसञ्चार प्राधिकरणका दुई जना पूर्व अध्यक्षले भ्रष्टाचार गरेको भन्ने आरोपलाई विशेष अदालतले ‘सही’ ठहर गरेको छ ।

पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई अदालतले दोषी ठहर गरेको हो ।

न्यायाधीशहरु टेकनारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झासहित ३ जनालाई दोषी ठहर गरेको गरेको छ ।

अदालतले दिगम्बर झा, पुरुषोत्तम खनाल र एक जना मलेसियाली नागरिकलाई जनही ५ करोड ८० लाख बिगो जरिवानासहित १ वर्ष कैद तोकेको छ । झा र खनाललाई संस्थाको अध्यक्ष भएकाले थप एक महिना कैद सजाय हुने समेत फैसला सुनाएको छ । अर्को एक कम्पनीलाई पनि यही जरिवाना र कैद सजायँ तोकिएको छ ।

एमडीएमएस खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित २० जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा एमडीएमएस खरिदका लागि वास्तविक लागत अनुमानभन्दा दोब्बर मूल्यमा ठेक्का सम्झौता गरेर अनियमितता गरेको आरोप अख्तियारले लगाएको थियो ।

विशेष अदालतमा मुद्दा लैजाँदा अख्तियारले ९१ करोड ९८ लाख रुपैयाँ बराबरको बिगो र २३ करोड २० लाख रुपैयाँ जरिवाना दाबी गरिएको थियो । फैसला आउँदा अदालतले कैदसहित २३ करोड २० लाख रुपैयाँमात्रै जरिवाना तोकेको बताइएको छ ।

यो मुद्दामा आनन्दराज खनाल, दीपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाद अर्याल, अच्यूतानन्द मिश्र, रेवतीराम पन्त, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतिक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइरालाले सफाइ पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्