८ महिना वितिसक्दा सरकारकाे खर्च र आम्दानी दुबै कमजाेर, पूँजीगत खर्च २३ प्रतिशत मात्र « Arthapath.com
१ चैत्र २०८१, शुक्रबार

८ महिना वितिसक्दा सरकारकाे खर्च र आम्दानी दुबै कमजाेर, पूँजीगत खर्च २३ प्रतिशत मात्र



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना वितिसक्दा पनि सरकारको खर्च र आम्दानीमा सुधार आउन सकेको छैन । महालेखा परिक्षकको कार्यालयका अनुसार साउन देखि फागुन मसान्तसम्म सरकारको राजस्व संकलन ५०. ७५ प्रतिशत र बजेट खर्च ४५.१२ प्रतिशत मात्र भएको छ ।

चालु आर्थिक वर्ष सकिन ४ महिना मात्र बाँकी रहँदा सरकारले ७ खर्ब २० अर्ब ३४ कराेड ६७ लाख रूपैयाँ राजस्व संकलन गरेकाे छ । जसमा ६ खर्ब ३८ अर्ब ७९ कराेड ९० लाख रूपैयाँ कर संकलन तथा ८१ अर्ब ५४ कराेड ७७ लाख रूपैयाँ गैरकर राजस्व उठाएकाे छ ।

चालु आर्थिक वर्षमा सरकारले कर राजस्वबाट १२ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ र गैरकर राजस्वबाट १ खर्ब २५ अर्ब ९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकाे छ ।

यस्तै फागुनसम्म सरकारले ८ खर्ब ३९ अर्ब ३५ कराेड ६० लाख रूपैयाँ बजेट खर्च गरेकाे छ । यस अवधिमा पूँजीगत खर्चकाे अवस्था सबैभन्दा कमजाेर देखिएकाे छ । फागुन मसान्तसम्म सरकारले लक्ष्यकाे २३.३७ प्रतिशत अर्थात ८२ अर्ब ३३ कराेड ६० लाख रूपैयाँ पूँजीगत खर्च गरेकाे छ । यस्तै यस अवधिमा चालु तर्फ ५१. २१ प्रतिशत अर्थात ५ खर्ब ८४ अर्ब १२ कराेड ७८ लाख र वित्तिय व्यवस्थापन तर्फ ४७ प्रतिशत अर्थात १ खर्ब ७२ अर्ब ८९ कराेड २२ लाख रूपैयाँ खर्च भएकाे छ ।

चालु आर्थिक वर्षकाे बजेट मार्फत सरकारले चालु तर्फ ११ खर्ब ४० अर्ब ६६ कराेड ४५ लाख, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ कराेड ४० लाख र वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब ६७ अर्ब २८ कराेड ४५ लाख रूपैयाँ विनियाेजन गरेकाे थियाे ।

यस्तै यस अवधिमा सरकारले ९ अर्ब १६ कराेड रूपैयाँमा वैदेशिक अनुदान प्राप्त गरेकाे छ । जुन लक्ष्यकाे साढे १७ प्रतिशत मात्र हाे ।


प्रतिक्रिया दिनुहोस्