फ्लोरा एक्स्पोको तेस्रो दिन : ३० लाख ७० हजार बढीको कारोबार

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पोमा तेस्रो दिन ३० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ । तेस्रो दिन मेलामा १७ हजार भन्दा धेरैले अबलोकन गरेका फ्यानले बताएको छ ।
मेलाको तेस्रो दिन फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना तथा लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा पुष्प ब्यबसायी, मेला अबलोकनकर्ता, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
सोमबार सम्म चल्ने सो पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपियाँ भन्दा बढीको कारोवार गने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) लिएको जनाएको छ ।
मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रबेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने निशुल्क प्रबेशको ब्यबस्था गरिएको मेला सहसंयोजक सुमन महर्जनले बताए ।
एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार भइरहेको कार्यक्रम संयोजक तथा फ्लोरिकल्चर एशोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ (सुनिल) ले जानकारी दिए । मेलामा फूलप्रेमी तथा अबलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचेअनुरुपनै कारोबार हुनेमा आफू बिस्वस्त रहेको पनि संयोजक तामाङले बताए ।
उपभोक्ता पनि अन्तिम अबस्थामा आउने भएका कारण मेलाको अन्तिम दिन यसअघिको भन्दा धेरै कारोबार हुने अपेक्षा फ्यानको रहेको छ ।