सकियो यो वर्षको पुष्प मेला, एक करोड बढीको कारोबार

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पो सोमबार सम्पन्न भएको छ । चौथो दिनसम्म एक करोड १० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
चौथो दिन मेलामा १० हजार भन्दा धेरैले अबलोकन गरेका छन् भने अन्तिम दिनमात्र २१ लाख ८० हजारको कारोबार भएको छ । सोमबारसम्म चलेको यो पुष्प मेला अवधीभरमा ५९ हजार बढीले अवलोकन गरेका छन् ।
एक करोड १० लाख बढीको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङ (सुनिल) ले बताए ।
उनका अनुसार मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल थिए । मेला अवलोकनका लागि सर्वसाधारणका लागि १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ प्रबेश शुल्क तोकिएको थियो । तर, जेष्ठ नागरिकहरुलाई भने निशुल्क प्रबेशको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार भएको कार्यक्रम संयोजक तामाङले जानकारी दिए । उनका अनुसार मेलामा फूलप्रेमी तथा अबलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचेअनुरुपनै कारोबार भएको छ । अपेक्षित कारोबारबाट आफू उत्साहित बनेको र अर्को बर्ष गरिने मेला अन्तराट्रियस्तरको गरिने योजना रहेको उनको भनाई छ ।
चार दिने मेला अवधिमा बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्री प्रकाश श्रेष्ठ, बागमती प्रदेश सरकारका बन तथा बाताबरण मन्त्रीले समेत मेला अबलोकन गरेका थिए । यसैगरी बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य, कृषि सचिब गोबिन्द प्रसाद शर्मा लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले पनि मेला अबलोकन गरेका थिए ।

नेपालमा बि.सं.२०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको ईतिहास रहेको छ । यसपछि पुष्प व्यवसायले बिस्तारै गति लिन थालेको हो । बि.सं. २०४९ साल ताकासम्म लगभग सिमीत संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरु रहेको थियो । जब २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपाल को स्थापना भयो तत पश्चात मात्र पुष्पको व्यवसायीक बिकास, बिस्तार र प्रबद्र्धनले गति लिएको हो ।
हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको छ । हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दा बढि क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ ।
१ हजार १७४ बढी पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेका छन् । फ्यानका अनुसार अनुमानित लगानी ८ अर्व ८३ करोड भन्दा बढी छ । यस्तै, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि ५१ हजार ५०० भन्दा बढि जनशक्तिहरु रोजगार रहेको छ । नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक कारोबार ३ अर्व ६८ करोड भन्दा बढि रहेको छ ।