दोश्रो चौमासिकमा ५.१ प्रतिशत आर्थिक वृद्धि, कुन क्षेत्रको योगदान कति ?

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा ५.१ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएकाे छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सार्वजनिक गर्दैयातायात, निर्माण, कृषि उत्पादन, विद्युत उत्पादन तथा वितरणा भएको वृद्धिसँगै वित्तिय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धिले अर्थतन्त्रमा सुधार आएको जनाएको छ ।
समग्रमा यस त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक क्षेत्र सबैमा धनात्मक वृद्धिदर रहेको अनुमान गरिएकाे छ। खासगरी यस अवधिमा शिक्षा क्षेत्र, आवास तथा भोजन क्षेत्र र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकोले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको कार्यालयकाे अनुमानछ।
मौसमी प्रभाव समायोजित तालिका २ मा प्रस्तुत तथ्याङ्कका आधारमा त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मुल्यमा चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को दोश्रो त्रैमासिकमा २.२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकमा प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये दुई ओटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अङ्कले मात्र वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि, यातायात तथा भण्डारण क्षेत्रमा भने अन्य क्षेत्रको तुलनामा धेरै वृद्धि हुने अनुमान गरिएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को दोश्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलनागर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १८ ओटै औद्योगिक क्षेत्रहरूको कुल मुल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ । जसमध्ये यातायात तथा भण्डारण संग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (१४.२%) रहेको छ भने खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।
यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै विद्युत तथा ग्यास क्षेत्रले ९.२ प्रतिशत वृद्धिदर कायम गरेको छ । त्यसैगरी, निर्माण सामग्रीहरुको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मुल्य अभिवृद्धि वृद्धिदर ९.१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। यसका साथै, उत्पादनमूलक उद्योगको कुल मुल्य अभिवृद्धि वृद्धिदर ७.४ प्रतिशत र निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा विमा क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर ६.६ प्रतिशत हुने अनुमान गरिएको छ। ब्यापार क्षेत्रको वृद्धिदर ६.१ प्रतिशत र सूचना तथा प्रविधिक्षेत्रको वृद्धिदर ४.९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ। धानको उत्पादनमा भएको वृद्धि साथै तरकारी, अमिलो जातको फलफूल तथा हिउदे फलफुल र पशु पंक्षीजन्य उत्पादनमा भएको बृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को दोश्रो त्रैमासिकमा प्रस्तुत गरिएका १८ ओटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर:
