काठमाडौंको वायु गुणस्तर ‘आपतकालीन’ तहमा

काठमाडौं । काठमाडौंको वायु प्रदुषणले खतराको तह पार गरेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायु प्रदूषण भएको सहरमध्ये दोस्रो नम्बरमा रहेको छ ।
यो समाचार तयार पार्दासम्म काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३४८ मापन गरिएको छ ।
विश्वकै सबैभन्दा प्रदुषित सहरमा इराकको बगदाद रहेको छ । बगदाद प्रदुषण ४३१ एक्युआई मापन गरिएको छ । तेस्रो नम्बरमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २०३ छ ।
चौथो नम्बरमा पाकिस्तानको लाहोर, पाँचौ नम्बरमा भारतको मुम्बइ, छैटौं नम्बरमा युएईको दुबई, आठौँ चीनको हांग्जाउ, नवौं नम्बरमा बंगलादेशको ढाका र दशौँ नम्बरमा चीनको वुहान रहेको छ ।
१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपतकालीन अवस्था मानिएको छ ।
अहिले काठमाडौँको वायु प्रदुषण बढ्नुमा जङ्गलमा लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ । मौसम विभागले काठमाडौँमा अझै केहि दिन वायु प्रदुषणको अवस्था रहने र यो केही दिन पूर्णरुपमा हट्ने सम्भावना नरहेको बताएको छ ।
