काठमाडौं उपत्यकासहित ३३ जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं, ललितपुर र भक्तपुरसहित देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको जोखिम रहेको छ। त्यसैगरी सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा र कैलालीमा पनि मध्यम तहको बाढी जोखिम रहने महाशाखाले जनाएको छ।
निरन्तर वर्षाका कारण ती जिल्लाका नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले नदी किनार, होचा भूभाग तथा डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्न अनुरोध गरेको छ।
निरन्तर वर्षाका कारण साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने, डुबान र कटानको जोखिम रहने चेतावनी पनि महाशाखाले दिएको छ। सम्भावित विपद्को सामना गर्न सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्वतयारी तथा उद्धार–राहतका लागि तयारी अवस्थामा रहन पनि महाशाखाले अनुरोध गरेको छ।













