करिव ६८ हजार ६८३ घरमा निःशुल्क रूपमा खानेपानीका नयाँ मिटर जडान

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय पिआइडिबाट मेलम्ची उप–आयोजना २ अन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण गरिएका खानेपानी वितरण सञ्जाल डिएमएका नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये यही चैत १८ गतेसम्ममा करिव ६८ हजार ६ सय ८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्क रूपमा जडान गरिएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई यसअघि हस्तान्तरण गरिएका १४ वटा खानेपानी वितरण सञ्जाल र हाल हस्तान्तरणको तयारीमा रहेका थप ११ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइन मार्फत खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये ८५ प्रतिशतभन्दा बढी घरमा खानेपानीका नयाँ मिटर जडान गरिसकिएको छ ।
यी खानेपानी सञ्जाल अन्तर्गत मिटर जडान हुन बाँकी घरहरू सहित हाल हस्तान्तरणको चरणमा रहेका ११ वटा र हस्तान्तरण हुन बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनबाट खानेपानी वितरण हुँदै आएका घरहरूमा समेत निःशुल्क रूपमा खानेपानीका नयाँ मिटिर जडान गर्ने कार्य जारी रहेको छ ।
यस्तै, नमूनाका रूपमा काठमाडौंका चःमती क्षेत्रमा ३ सय ७० र अनामनगर क्षेत्रमा ४ सय ६७ गरी जम्मा ८ सय ३७ घरमा खानेपानीका स्मार्ट मिटर निःशुल्क रूपमा जडान गरिएको छ । यसरी जडान गरिएका स्मार्ट मिटरहरूको रिडिङ काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरी शाखामा रहेको केन्द्रीय नियन्त्रण कक्षबाट अत्याधुनिक एससिडिए प्रणाली मार्फत गर्न थालिएको छ ।
यसैगरी, अन्तिम परीक्षण लगायतका कार्य सम्पन्न गरिएका थप ११ वटा खानेपानी वितरण सञ्जालका करिव ३ सय ७७ किलोमिटर पाइपलाइनको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ ।
यसपश्चात् बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका करिव २ सय ५३ किलोमिटर पाइपलाइनको स्वामित्व पनि छिट्टै नै बोर्डलाई हस्तान्तरण गर्ने गरी अन्तिम परीक्षण लगायतका कार्यलाई तीब्रता दिइएको छ । यसअघि, दुईपटकमा गरी विभिन्न १४ वटा खानेपानी वितरण सञ्जालका जम्मा ३ सय ५० किलोमिटर नयाँ पाइपलाइनको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको छ ।
काठमाडौं उपत्यकामा करिव ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिव ९ सय ८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल तयार भएको छ ।