रास्वपा उपसभापतिमा सोविता गौतम र महामन्त्रीमा विपिन आचार्य विजयी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपसभापति पदमा सोविता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। पार्टीको शीर्ष नेतृत्व (सभापति र वरिष्ठ नेता) यसअघि नै निर्विरोध चयन भइसकेको अवस्थामा अन्य रिक्त पदाधिकारीहरूका लागि शुक्रबार मतदान भएको हो।
पार्टीभित्र निकै चासोका साथ हेरिएको उपसभापति पदको प्रतिस्पर्धामा लोकप्रिय युवा नेत्री सोविता गौतम विजयी भएकी छन्। पदाधिकारी चयनका लागि शुक्रबार भएको मतदानमा उनले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। उपसभापति पदकै अर्की बलिया प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।
यस्तै, पार्टीको सांगठनिक कमान्ड सम्हाल्ने महत्वपूर्ण पद महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। आचार्य यसअघि रास्वपाको सहमहामन्त्रीको जिम्मेवारीमा रहेर संगठन विस्तारमा सक्रिय थिए।
रास्वपाको महामन्त्री पदका लागि सहमहामन्त्री विपिन आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच निकै रोचक प्रतिस्पर्धा भएको थियो।
यसअघि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका अन्य ६ जना उम्मेदवारहरू गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले भने आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। बहुपक्षीय प्रतिस्पर्धा र आन्तरिक समीकरणका बीच आचार्यले बाजी मारेका हुन्।
पार्टीको केन्द्रीय महाधिवेशन र आन्तरिक लोकतन्त्रको अभ्यास स्वरूप लोकतान्त्रिक विधिबाट मतदान प्रक्रिया सम्पन्न गरी रास्वपाले नयाँ पदाधिकारीहरूको टुंगो लगाएको हो।













