मनसुनको अत्यासलाग्दो जोखिमबाट नागरिकको रक्षा गर्न आकाशदेखि धर्तीसम्म सेनाको व्यग्र तयारी
प्रकोपको अत्यासलाग्दो विगत र बदलिँदो मनसुनको जोखिमबीच नागरिकको जीउधन जोगाउन नेपाली सेनाले हवाई उद्धारसहितको पूर्वतयारी तीव्र पारेको छ।
काठमाडौँ । नेपालमा मनसुन भित्रिनेबित्तिकै आकाशतर्फ हेरेर नेपाली मनहरू त्रसित हुन थाल्छन्। विगत एक दशकको तथ्याङ्क हेर्ने हो भने यो डर अस्वाभाविक पनि देखिँदैन। बितेका १० वर्षमा ९ हजार ७ सयभन्दा बढी मनसुनजन्य विपद्का घटना भएका छन्, जसले २ हजार ३ सय ३९ जनाको ज्यान लिइसकेको छ।
अघिल्लो वर्ष मात्रै पनि १ हजार ३ सयभन्दा बढी प्रकोपका घटनामा १४० जनाले ज्यान गुमाए भने ३० जना अझै बेपत्ता छन्। यो वर्ष पनि कम वर्षा हुने आँकलन गरिए पनि एकै ठाउँमा मुसलधारे पानी पर्ने र हिमताल फुट्न सक्ने जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।
यस्तो अत्यासलाग्दो र संवेदनशील समयमा जब सरकारका अन्य निकाय बजेट र स्रोतको अभाव देखाउँदै अल्मलिइरहेका देखिन्छन्, तब हरेक वर्ष झैँ यसपालि पनि नेपाली सेना नागरिकको सहारा बनेर मैदानमा उत्रिएको छ।
“मनसुनका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान तथा अन्य विपद्का घटनामा शीघ्र, समन्वयात्मक र प्रभावकारी प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले सर्लाही जिल्लाको बागमती ड्याम इलाकामा विपद प्रतिकार्य तयारी अभ्यास सञ्चालन गरेको छ,” सेनाले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएको छ।
जोखिमको भुमरीमा सेनाको तत्परता
यस वर्ष प्रशान्त महासागरमा विकसित भइरहेको एल-निनो प्रणाली र आइओडीको प्रभावका कारण मौसम झन् अनपेक्षित हुने पूर्वानुमानहरु गरिएका छन्। कतै खडेरी त कतै अचानक आउने भीषण बाढीले तटीय क्षेत्र जोखिममा पर्ने निश्चित जस्तै छ।
उचित भू-उपयोग नीतिको अभाव, जथाभावी खनिएका ग्रामीण सडक र नदीजन्य स्रोतको अनियन्त्रित उत्खननका कारण प्राकृतिक संकट झन् गहिरिँदै गएको छ। बाढी, पहिरो र डुबानले मानिसहरूलाई सर्वस्व गुमाउन बाध्य मात्र पारेको छैन, उनीहरूलाई गरिबीको चक्र र मानसिक त्रासको भुमरीमा समेत धकेलेको छ।
राज्यले पुनर्निर्माणमा अर्बौँ रुपैयाँ खर्च गर्नुपर्ने यस्तो चुनौतीपूर्ण समयमा, नागरिकको जीउधनको रक्षाका लागि नेपाली सेनाले आफ्नो मानवीय सेवाको भावनालाई फेरि एकपटक प्रमाणित गर्न खोजेको छ। सम्भावित संकटको यही गम्भीरतालाई बुझेर सेनाले आफ्नो विपद् प्रतिकार्य तयारीलाई निकै चुस्त र द्रुत बनाएको छ।

आकाशबाट उद्धारको महाअभ्यास
प्राकृतिक प्रकोपले घेरेर नागरिकहरू जीवन र मरणको दोसाँधमा परेका बेला सबैभन्दा पहिले पुग्ने भरपर्दो निकाय नेपाली सेना नै बनेको छ। यही मानवीय जिम्मेवारीलाई आत्मसात् गर्दै सेनाले सर्लाहीको बागमती ड्याम क्षेत्रमा एउटा बृहत् विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरेको छ।
काठमाडौँ विमानस्थलमा सधैँ तयारी अवस्थामा रहने सेनाको ‘कम्पोजिट क्विक रियाक्सन टिम’ले बागमतीको बाढी र डुबान प्रभावित क्षेत्रलाई केन्द्रित गरेर हवाई उद्धारको विशेष अभ्यास गरेको सेनाले जनाएको छ।
मध्यपूर्वी पृतना, विशेष फौज बाहिनी तथा मध्य एयर बेसका सैनिक टोलीहरू पानीको तेज बहाव र अप्ठ्यारो परिस्थितिमा नागरिकलाई कसरी सकुशल बाहिर निकाल्ने भन्ने कार्यमा अहोरात्र खटिएर सीप निखारिरहेका छन्।
संकटको सहयात्री नेपाली सेना
आफ्नो ज्यान जोखिममा राखेर अरूको ज्यान जोगाउनु नेपाली सेनाको ऐतिहासिक चरित्र रहँदै आएको छ। मनसुनका कारण हुन सक्ने सम्भावित विपद्को सामना गर्न आवश्यक तयारीलाई निरन्तर सुदृढ बनाउँदै लगिएको सेनाले बताएको छ।
यस्ता नियमित हवाई तथा स्थलगत अभ्यासले बाढी र डुबानमा परेका नागरिकलाई शीघ्र र प्रभावकारी रूपमा उद्धार गर्न सकिने र क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुग्ने सेनाको विश्वास छ। बाढीले बाटो छेकेका बेला, पहिरोले बस्ती पुरिएका बेला वा डुबानले घरका छानाहरू डुब्न लागेका बेला सेनाको हेलिकप्टर र सैनिक पोसाक देख्दा नागरिकले पाउने राहत शब्दमा व्यक्त गर्न सकिँदैन।
हिमालदेखि तराईसम्म फैलिने मनसुनको यो विपत्तिमा नेपाली सेनाले देखाएको यो मानवीय तत्परताले आम नागरिकलाई ठूलो भरोसा र सुरक्षाको अनुभूति दिलाउन सक्ने छ।













