बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाइ मुआब्जा निर्धारण « Arthapath.com
२ बैशाख २०८२, मंगलवार

बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाइ मुआब्जा निर्धारण



काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ। चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवद्र्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको साझेदारीमा मुआब्जा निर्धारण गरिएको हो।

साहस ऊर्जाका निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना ३ लाख कायम गरिएको छ। चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना ४ लाख र बस्तीभन्दा बाहिर प्रतिआना १ लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ। पाठकका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ।

उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन। गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने पाठकले जानकारी दिएका छन्। आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन्।

विस्थापित हुनेहरूको पुनःस्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिएका छन्। डुबानका कारण विस्थापित हुनेहरू कसैलाई फिलिममा, कसैलाई जगतमा पुनःस्थापित गर्ने विषयमा छलफल भइरहेको छ तर निर्णय भने नभएको , लामाले बताएका छन् ।

अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३ सय ४१ मेगावाट क्षमताको उक्त परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो। साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्ने छ भने त्यहाँबाट ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ। उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिने छ। उक्त आयोजनाको कुल लागत ७० अर्ब रहेको छ।


प्रतिक्रिया दिनुहोस्