होटेल सारथी र सिटिजन्स क्यापिटलबीच आईपीओ जारी गर्ने प्रक्रिया तथा निर्गमन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता

काठमाडाैं । होटेल सारथी प्रालि र सिटिजन्स क्यापिटलबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
होटेल सारथी, धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
होटेल सारथीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ यस सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२/०८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुनेछ यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन् ।
२०७२ सालमा स्थापना भएको होटेल सारथी सुपरिचित पर्यटकीय गन्तब्य धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् । २० जनादेखि ४ सय जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको होटलको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न सफल यस होटल संचालनको छोटो समयमा नै होलिडेज, कर्पोरेट, माइसका साथै डेस्टिनेसन वेडिङका लागि समेत आफ्नो बिशेष पहिचान बनाउन सफल भएको छ । स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिँदै ग्राहकको रोजाइ अनुसारको मेनु पस्कँदै आएको यस होटलले स्थानीयस्तरमा रोजगारी, सीप विकास र पेशागत क्षमता वृद्धिमा समेत महत्वपूर्ण योगदान गरेको छ । सारथी समूहअन्तर्गत होटेल, मार्ट, बहुउद्देश्यीय सहकारी, वेलफेयर फाउण्डेशन, स्कूल, तालिम केन्द्र, सारथी भेन्चर्स तथा होलिडेज संचालनमा रहेका छन् ।
१९ रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा आफ्नै अर्गानिक फार्म संचालनमा रहेको छ भने, रोप साइक्लिङ्ग, स्पोर्टस सेन्टर, पिकनिक स्थल र हेलिप्याड निर्माणाधीन अवस्थामा छ भविष्यमा आफ्नो ब्राण्डलाई अन्य प्रमुख पर्यटकीय गन्तब्यहरुमा समेत विस्तार गर्ने लक्ष राखेको यस समूहले चितवनको सौराहामा आफ्नो दोश्रो प्रोपर्टी संचालनमा ल्याएको छ ।