भरतपुर अस्पतालले स्वास्थ्य बीमाकाे रकम नदिएपछि बिमामा तोकिएका २४ प्रकारका परीक्षणहरु बन्द गर्याे « Arthapath.com
१८ असार २०८२, बुधबार

भरतपुर अस्पतालले स्वास्थ्य बीमाकाे रकम नदिएपछि बिमामा तोकिएका २४ प्रकारका परीक्षणहरु बन्द गर्याे



काठमाडौं। गत साउनदेखी स्वास्थ्य बीमामार्फत पाउनुपर्ने भुक्तानी नदिएपछि भरतपुर अस्पतालले बिमामा तोकिएका २४ प्रकारका परीक्षणहरु बन्द गरेको छ। परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएपछि सेवा बन्द गरेको अस्पतालले जानकारी दिएकाे छ।

बीमा बोर्डबाट पाउनुपर्ने ५० करोड भुक्तानी नभएपछि ती सेवा परीक्षणहरू बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। पौडेलका अनुसार वैशाख १ गतेदेखि रोकिएका सेवा परीक्षण अत्यावश्यक परीक्षण होइनन्।

यसअघि नै बीमा बोर्डले ३ महिनामा एकपटक मात्रै परीक्षण गर्न पाउनेगरी नीति बनाएको थियो। भिटामीन डी, भिटामिन १२ जस्ता परीक्षण बिमामार्फत गर्न रोकिएको हो, ‘अत्यावश्यक परीक्षण हामीले रोकेका छैनौँ। ती परीक्षणको कीट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो हुने भएकाेले रोक्नु परेको पौडेलले बताएका छन् ।’

बीमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउने कम्पनी, रिएजेन्ट (केमिकल) र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको बताएका छन्। पौडेलका अनुसार फागुनदेखिको १२ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ। ती कम्पनीहरुले अस्पताललाई समान दिन गाह्रो मानेको समेत बताउँएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. पौडेल बिमा बोर्डबाट भुक्तानी नआउँदा अस्पतालका कर्मचारीलाई तलब खुवाउनसमेत कठिन भएको र अस्पताल सञ्चालनका लागि तत्काल रकम २५ करोड भुक्तानी भयो भने अन्य आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुने बताए।

‘यस्तै अवस्था रहे फर्मेसीमा औषधि र प्रयोगशालामा आवश्यक परीक्षण गर्न कठिन हुन्छ। अस्पतालमा हाल दैनिक १ हजार ५ सय भन्द बढी स्वास्थ्य बिमामार्फत बिरामीले उपचार लिँदै आएका छन्। अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी यस्ता बिरामी रहेका तर भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमा कठिन भएको पौडेलकाे भनाइ छ ।’

अस्पतालका बिमा कार्यक्रम संयोजक लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको रकम ३७ करोड भुक्तानी भएपनि चालु आर्थिक वर्षको हालसम्म भुक्तानी भएको छैन। अस्पताल विकास समितिको पैसाबाट बिमाका बिरामीलाई सेवा दिइएको जानकारी दिँदै पौडेलले यही अवस्था रहे अस्पताल आर्थिक सङ्कटमा धकेलिने बताएका छन्।

अस्पतालले मासिक ६ करोड बढीको स्वास्थ्य बिमाको उपचार सेवा दिँदै आएको छ। भरतपुर अस्पताल स्वास्थ्य बीमामा देशकै उत्कृष्ट र नमूना मानिन्छ। देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा दाबी प्रक्रिया बुझ्न कर्मचारी यहाँ आउने गरेका छन्। यसरी आएकाहरूलाई बिमा दाबी भुक्तानीका बारेमा थप प्रशिक्षित गरेर पठाउने गरिएको पौडेलले बताएका छन्


प्रतिक्रिया दिनुहोस्