नेप्से र सीडीएससीका कर्मचारीको बदमासी : व्यापारीसँगको मिलेमत्तोमा असुली धन्दा चलाएपछि अख्तियारमा उजुरी « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेप्से र सीडीएससीका कर्मचारीको बदमासी : व्यापारीसँगको मिलेमत्तोमा असुली धन्दा चलाएपछि अख्तियारमा उजुरी



काठमाडौं । सेयर सूचीकृत गर्दा प्रदान गरिने कोड र आइजीन (इन्टरनेशनल स्ट्याण्डर्ड आइडेन्टिफिकेशन नम्बर)लाई कर्मचारीले कमाईखाने भाँडो बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा कर्मचारीले अख्तियार दुरुपयोग गरी व्यापारीसँगको मिलेमततो कतिपय कम्पनीको सिंगल आईजीन र सिंगल कोड सिर्जना गरेर असुली धन्दा चलाएको आरोप लागेको छ ।

सम्बद्ध कर्मचारी उपर छानविन गरी कारबाही गर्न निवेदनमा माग गरिएको छ । आईजीनको नाममा भएको विकृति रोक्नका लागि अमर लम्सालले अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

उनको उजुरीले अख्तियारमा ‘सी–०६७३७०’ दर्ता नम्बर प्राप्त गरेको छ । उनले कुनै पनि कम्पनीले आईपीओ जारी गर्दा संस्थापक र सर्वसाधार गरी दुई भागमा सेयर जारी गर्ने तथा रियल सेक्टर र जलविद्युत कम्पनीका संस्थापकहरुको सेयर ३ वर्षसम्म लकइन हुने भएपनि नेप्से र सीडिएससीले एउटै कोड र आईजिन दिएर लगानीकर्तामा भ्रम सिर्जना गर्ने गरेको भनिएको छ ।

यसरी कर्मचारीले कमाई खाने भाँडोको रुपमा विकास गरेको भन्दै लम्सालले अख्तियारमा उजुरी हालेका हुन् । ‘प्रमोटर र पब्लिक गरी दुई भागमा विभाजन गरिएको सेयरलाई नेप्सेले एउटै कोड नम्बर उपलब्ध गराउने तथा सोही कोडको आधारमा सीडएस एण्ड क्लियरिङले एउटै आइजीन नम्बर दिएर सर्वसाधारण लगानीकर्तामाथि शोषण गर्नुका साथै अख्तियारको समेत दुरुपयोग गरी गैरकानूनी कार्य गर्दै आएका छन्,’ उक्त उजुरी निवेदनमा भनिएको छ ।

‘एउटै कोड र आइजिन नम्बर दिएका कारण कतिपय लगानीकर्ताले जानाजान लकिङ पिरियड नखुल्दै आफुसँग भएको सेयर दोस्रो बजारमा बिक्री गरेको पाईएको छ भने एउटै कोड र आइजिनकै कारण कतिपयले भुलबस लकिङ समयावधिमा रहेको सेयर बिक्री गरेका छन् । जुन नेपालको सेयर बजारको दुर्भाग्य र नेप्सेले गर्दै आएको गैरकानूनी क्रियाकलाप भएको समेत निवेदनमा उल्लेख छ ।

साथै नेप्से र सीडीएसले कम्पनीका संस्थापकसँगको मिलेमतोमा एउटा कम्पनीका दुईवटा फरक फरक प्रकृतिका सेयरलाई एउटै बास्केटमा राखेर मिसाई साना तथा सर्वसाधारण लगानीकर्ताहरुलाई मारमा पार्ने तथा बजारबाटै निस्तेज पार्ने काम गर्दै आएको उक्त निवेदनमा उल्लेख छ ।

यसैगरी सेयर लकिङ खुल्नु र कन्भर्जन हुनु दुई फरक विषय भएको, तर अहिले कम्पनीका संस्थापकहरुको मिलेमतोमा नेप्से र सीडीएसले लकिङ खुलेको सेयरलाई कन्भर्जन भन्दै एउटै बास्केटमा राखेर खदिबिक्री गर्न दिँदै आएको भन्दै सो सम्बन्धमा समेत छानविन गर्न माग गरिएको छ ।

यसैगरी अर्थ मन्त्रालयको मिति २०६४ । १२ । १४ को तत्कालिन नेपाल धितोपत्र विनिमय बजार लिमिटेडलाई काटेको पत्र अनुसार पनि कन्भर्जन नभईसकेको अवस्थामा संस्थापक सेयरको मूल्य पब्लिक सेयरको तुलनमा आधार अर्थात ५० प्रतिशत कम मूल्यमा बिक्री हुने भनी स्पष्ट लेखि पठाएको छ ।

तर अहिले सुचिकृत कम्पनीहरुले लकिङ खुल्नुलाई नै कम्भर्जन भन्दै लकिङ अबधि सकिएपछि दोस्रो बजारमा सर्वसाधारण सेयरकै मूल्यमा बिक्री गर्दै आएको र यसमा समेत कानून बाझिनुका साथै गलत कार्य भएको उक्त निवेदनमा उल्लख गरिएको छ ।

अहिले पनि बैंक तथा वित्तीय संस्थाको सेयर सुचिकृत गर्दा स्पष्ट रुपमा दुई थरी कोड र आईजिन दिइएको छ । यसैगरी कतिपय लगानी कम्पनी र उत्पादनमुलक कम्पनीलाई समेत फरक फरक कोड र आईजिन उपलब्ध गराईएको छ ।

तर, नेप्से र सीडीएससीको मिलेमतोमा यस अघि जलविद्युत लगायत कतिपय रियर सेक्टरका कतिपय कम्पनीलाई एउटै कोड र आइजिन दिएर बार्गेनिङ गर्दै कमाउ धन्दाको रुपमा विकसित गरेको समेत उक्त निवेदनमा उल्लेख छ ।

‘जसको विकृतिको ज्वलन्त उदाहरण सुपर माई हाईड्रो लिमिटेको बोनस वापत आएको सेयर संस्थापक लगानीकर्ताले लकइन नखुल्दै बिक्री गरे भने आखुखोला जलविद्युत आयोजनाका संस्थापक लगानीकर्ताले पनि एउटै कोड आईजिन भएका कारण लकइन समयाबधि नसकिँदै सेयर बिक्री गरेर बाहिरिएका छन्,’ उक्त निवेदनमा भनिएको छ ।

साथै अबका दिनमा नेपालको पुँजी बजारमा देखिएको बिकृति विसंगति रोक्नका लागि अब आईपीओमा गएर सुचिकृत हुने पाईपलाईनमा रहेका सबै कम्पनीलाई दुई फरक फरक कोड र आइजिन दिनका लागि नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससी लगायतका सम्बद्ध निकायलाई छाविनको दायरामा ल्याई सर्वसाधारण लगानीकर्ताको हित सुरक्षित गर्न समेत उक्त उजुरीमा माग गरिएको छ ।

साथै यसअघि एउटै कोड र आईजीन भएका तर लकइन अवधि बाँकी रहेका कम्पनीलाई समेत फरक फरक कोड र आईजीन दिलाउन समेत उनको माग छ ।


प्रतिक्रिया दिनुहोस्